Shittalpati
विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

काठमाडौं (एजेन्सी) । एनसेल आजियाटा लिमिटेडले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ । एनसेलको सिमकार्ड प्रयोग गर्ने विद्यार्थीहरुको पठन–पाठनलाई सहज बनाउन एनसेलले ‘एनसेल अडियो क्लास’ सुरु गरेको हो । विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने छन् । विद्यार्थीले मोवाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ । पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकाले आफ्ना ग्राहकको सिकाईका लागि यो सेवा लिइएको कम्पनीले जनाएको छ । यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको लागि विषेश महत्व राख्ने कम्पनीले विश्वास लिएको छ । पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध हुने छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिनेछ । विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन् ।

ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्छन् । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानलमार्फत पनि सुचारु गर्न सक्छन् । अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन् । ३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र रु ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् । त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहितमात्र रु १४ मा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्छन् । कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा मात्र रु ७ मा फेरी खरिद गर्न सक्छन् । यस सेवा सुचारु गरिएको पहिलो ५ महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन् ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update