Shittalpati
कृषि कर्जाका लागि ग्लोबल आइएमई बैंक र हेफर बिच सम्झौता

पाल्पा । व्यवसायिक कृषकहरुका लागि सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले यी दुई संस्थाबिच सम्झौता भएको हो ।

सम्झौता पश्चात बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पूँजी अभावका कारण पछाडी परेका स्थानीय कृषि उद्यमीहरुको जिवनस्तर उकास्न उल्लेख्य योगदान पुर्‍याउने छ ।

बैंकले आफ्नो पहुँच तथा सेवा केन्द्रको उपभोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारी तथा सोसँग सम्बद्ध महिला उद्यमीहरुलाई बैंकसँग जोड्दै सेवा प्रदान गर्नेछ । यस समझदारीसँगै दुवै संस्थाले कृषि उद्यममा संलग्न ग्रामिण भेगका किसानलाई वित्तीय पहुँच सुधार गर्नका लागि संयुक्त प्रयास गर्ने छन् र त्यस्ता किसानहरुको व्यवसाय बिस्तार गर्न सक्षम बनाउने छन् । बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २ सय ६४ शाखा सहित ८ सय सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update