Shittalpati
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड

पाल्प । आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशको तानसेनमा भएको परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले कोभिडका कारण थिलो–थिलो परेको पर्यटन क्षेत्रको विकासलाई माथि गठाउन आन्तरिक पर्यटक भित्र्याउने वातावरण पर्यटन व्यवसायीले सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् । आन्तरिक पर्यटकहरुलाई जिल्लामा भित्र्याउन सके मात्र कोरोनाले सिथिल भएको पर्यटन व्यवसायी माथि उठ्न सक्ने सहभागीहरुले बताएका छन् । कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले पर्यटक भित्र्याउने विषयमा निजी क्षेत्रले पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले तानसेनको पर्यटन क्षेत्रको विकासका लागि नगर सरकारले पनि दिर्घकालिन योजना बनाएर अगाडि बढेको जानकारी दिए । प्रमुख शाहीले भने ‘मौलिक संस्कृतिको जगेर्ना गर्न र आफ्नो पनको विकास गर्नु अहिलेको आवश्यकता रहेको छ, त्यो पर्यटन व्यवसाय । निजी क्षेत्रबाट मात्र सम्भव छ ।’

कार्यक्रममा समितिका लुम्बिनी प्रदेशका संयोजक कृष्णप्रसाद अधिकारीले पर्यटन प्रवद्र्धनका लागि गाईडको आवश्यकता रहने भन्दै व्यवसायीहरुले सेवामा गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिए । कोभिड –१९ ले सिथिल बनाएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न सबै पर्यटन व्यवसायीहरु एक हुन उनले आग्रह गरे । समितिका सल्लाहकार माधव नेपालले अब सुरक्षित हुँदै आफ्ना व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा सुझावका लागि आएको बताए । कार्यक्रममा तानसेन नगरपालिका उपप्रमुख लक्ष्मीदेवी पाठक, टुरिजम एक्सन कमिटी तानसेनका अध्यक्ष सागरमान महर्जन, होमस्टे एशोसियसन पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, होटल एशोसियसन पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, वुद्धिजिवी निर्मल श्रेष्ठ, होमस्टे एशोसियसनका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल, नेपाल पर्यटन वोर्डका अधिकृत प्रदिप गैरे लगायतले पाल्पालाई केन्द्रविन्दु बनाएर लुम्बिनी प्रदेशको पर्यटन विकासमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।

उनीहरुले सातै प्रदेशमा समिति गठन गरी पर्यटन क्षेत्रको विकासमा थालेको कदम उत्साह जनक र प्रशंसनिय रहेको बताए । यो कार्यक्रम पौष ११ गते देखि १५ गतेसम्म लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र बाँकेसम्मका लागि तयार गरिएको छ । कार्यक्रमको पहिलो दिन तानसेनमा आयोजित कार्यक्रममा नाटा च्याप्टर पाल्पाका अध्यक्ष प्रदिप उदयले आगन्तुकहरुलाई स्वागत गर्दै पाल्पाका पर्यटकीय क्षेत्रको पहिचान गर्ने वस्तुहरु तथा गन्तव्यहरुको जानकारी गराएका थिए । समितिका संयोजक कृष्णप्रसाद अधिकारी (सागर) को अध्यक्षता र नाटा पाल्पाका राजिव शाहको सञ्चालनमा कार्यक्रम भएको थियो । –भरत आचार्यबाट

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update