Shittalpati
पाल्पाका पहिरो पीडितलाई पाल्पाली समाज यूकेको आर्थिक सहयोग

पाल्पा । जिल्लाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पाली समाज यू.के (पाल्पाली भञ्याङ्ग परिवार) ले खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । समाजले गत भाद्र २५ गते पहिरोले गोठ भत्किदा ज्यान गुमाएका बगनासकाली गाउँपालिका ७, अलैचेका २२ वर्षिय सुमन कनौजेको परिवारलाई ५० हजार रुपियाँ प्रदान गरेको छ ।

स्वर्गिय कनौजेकै घरमा पुगेर समाज पाल्पाली भञ्याङ्गका प्रतिनिधि इन्द्र थापा मगर र वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले सो सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले पीडित परिवारलाई समाजले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताए । कार्यक्रममा स्थानीय समाजसेवी प्रेमबहादुर मिधुन, पत्रकार देब पचभैया, सुमन कार्की, सुरज बिक लगाएत स्थानीयको समेत सहभागिता रहेको थियो ।

यस्तै गत असोज ८ गते गएको पहिरोले घरबार बिहिन भएका रम्भा गाउँपालिका २ फोक्सिङ्कोटका १२ घर परिवारलाई समेत समाजले प्रति घर परिवार १२ हजार ६ सयका दरले एक लाख एकाउन्न हजार दुई सय आर्थिक सहयोग प्रदान गरेको हो । समाजका प्रतिनिधि इन्द्र थापा र वडा अध्यक्ष उमान सिंग सारुले पहिरोले घर भत्किएर घरबार बिहिन भएका परिवारलार्ई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै समाजका प्रतिनिधि इन्द्र थापा मगरले कोरोना संक्रमणको जोखिम र सरकारले गरेको लकडाउनका कारण समयमै पहिरो प्रभावितलाई सहयोग गर्न असमर्थ भएको भन्दै आगामी दिनमा पनि समस्यामा परेका जिल्लावासीका लागि बेलायतमा रहेका पाल्पालीहरुले निरन्तर सहयोग गर्ने बताए । वडा अध्यक्ष उमान सिंग सारु र ५ का वडा अध्यक्ष खुमकान्त बस्यालले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पाल्पाली भञ्याङ्ग, परिवारको थप प्रगतिको कामना गरेका थिए । यस अघि पनि फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका ६ जनाको परिवार र आफन्तलाई समाजले २ लाख आर्थिक सहयोग गरेको थियो ।

 

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update