.jpg)
कौरव खत्री
पाल्पा, तीन जिल्लाका प्रअहरुको तालिम तानसेनमा सञ्चालन भएको छ । शिक्षा तालिम केन्द्र प्रदेश पाँच रुपन्देहीको आयोजनामा पाल्पा, गुल्मी र अर्घाखाँचीका आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकासका लागि दश दिने तालिम तानसेनमा सञ्चालन भएको हो । तालिमको शिक्षा तालिम केन्द्र प्रदेश पाँच रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै केसीले शैक्षिक गुणस्तरका लागि प्रधानाध्यापकहरुको लागि तालिम महत्वपूर्ण रहने बताए । तालिम प्राप्त शिक्षकहरुले मात्र शैक्षिक गुणस्तर वृद्धि गर्न सक्ने भन्दै उनले तालिममा सिकेका ज्ञान सीपलाई विद्यालयमा प्रयोग गर्न तालिममा सहभागी प्रअहरुलाई आग्रह गरे । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकको नेतृृत्व र योजना कुशल र सक्षम हुन सके विद्यालयमा दुई तिहाई सुधार हुने केसीले बताए । तालिममा तीन जिल्लाका विद्यालयहरुका प्रधानाध्यापक एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिम फागुन ४ गतेसम्म सञ्चालन हुने तालिम शाखा पाल्पाका प्रमुख नारायण पोखरेलले जानकारी दिए । तालिमको पहिलो र दोस्रो दिन शिक्षा सम्वन्धी व्यवस्था,विद्यालय क्षेत्र विकास योजना, दिगो विकासका लक्ष्यमा शिक्षा र विद्यालयको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।