Shittalpati
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व

गुल्मी । जिल्लामा सवारी कारवाहीबाट पछिल्लो ५ महिनामा २० लाख बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीले नियम उल्लङघन गरी सवारी चलाउने विभिन्न सवारी साधनहरुमा गरेको कारवाहीबाट २० लाख ५७ हजार राजस्व संकलन गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को ५ महिनाको अवधिमा ३ हजार ५० वटा सवारी कारवाहीबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए । उनका अनुसार साउन महिनामा ४ सय ५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजश्व संकलन भएको हो । त्यस्तै भदौ महिनामा ४ सय ५० वटा सवारी कारवाहीमा २ लाख ७९ हजार ९ सय, असोज महिनामा ६ सय सवारी कारवाहीमा ४ लाख २३ हजार ५ सय, कात्तिक महिनामा ७ सय ५० वटा सवारी कारवाहीमा ५ लाख १२ हजार र मंसिर महिनामा ८ सय सवारी कारवाहीमा ५ लाख ७० हजार राजश्व संकलन भएको छ ।

सबै भन्दा धेरै मंसिर महिनामा राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । कार्यालयले ट्राफिक नियम विपरीत सवारी चलाउदा दुर्घटना बढ्दै गएपछि त्यसको न्यूनीकरणमा विशेष सर्तकता अपनाएको छ । ट्राफिक कार्यालले दैनिक जसो सडकमा सञ्चालन हुने साना, ठूला सवारी साधनका चालक, सह–चालक र यात्रुहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना तथा प्रशिक्षण दिर्दै आएको छ । जिल्ला सदरमुकाम तम्घासमा हुने सवारी चापलाई मध्यनजर राखेर विभिन्न रुटमा सवारी चलाउने नियम बनाइएको ट्राफिक प्रहरीले जनाएको छ । सदरमुकाम तम्घास भएर आवत–जावत गर्ने टिपरहरुलाई उदिनढुंगाबाट धागिथुम हुँदै बाख्रेछेडा भएर आवत–जावत गर्ने रुट बनाएर भिडभाड कम गर्ने काम गरिएको छ । त्यसका साथै मालवाहक सवारी साधनलाई लोड अनलोड गर्न लोड गर्न समय तोकिएको छ । बजार भित्र सामान अनलोड गर्न बेलुकी ४ बजेदेखि बिहान ९ बजेसम्म समय तोकिएको छ । त्यस्तै लोड गर्न बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म समय तोकिएको छ ।
–अनिल खत्री

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update