Shittalpati
मेगा बैंकको खाता ‘भिडियो कल’बाटै

पाल्पा । मेगा बैंक नेपाल लिमिटेडको खाता अब ‘भिडियो कल’ बाटै खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ्ग प्रविधिलाई मध्यनजर गर्दै ‘भिडियो कल’ बाटै खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ । बैंकिङ्ग क्षेत्रमा यो नेपालमै पहिलो सुविधा रहेको बैंकले दावा गरेको छ । ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्ने छन् । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने बैंकको विश्वास लिएको छ । आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था छन् । खता खोल्नका लागि ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ ।

वेबसाईटको सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ । यस मेनुमा क्लिक गरेपछि त्यहाँ बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । छानिसकेपछि ‘कृएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्टलाई फोटो खिचेर वा स्क्यान भएको भए सोही अनुसार छनौट गरेर अपलोड गर्नुपर्छ । त्यो विवरण प्राप्त गर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्ने छन् । यो सेवाले इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई खाता खोल्नकै लागि बैंकमै आउनुपर्ने वाध्यताको अन्त्य गरेको छ । यो बैंक नेपाल राष्ट्र बैंकबाट ’क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको यस बैँकले तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको छ । बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update