Shittalpati
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

गुल्मी । गुल्मीका एक युवाले आफ्नो जन्मदिनमा गर्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा व्यवसाय सञ्चालन गर्दै आएका जनक पन्थले जन्म दिनको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण वृद्धाश्रममा पुगेर वृद्धावृद्धहरुलाई सामूहिक भोजन गराएका छन् । उनले जन्म दिनमा गर्ने खर्च कटाएर आश्रममा रहेका ५० जना वृद्धाहरुलाई सामुहिक रुपमा एकछाक खाना खुवाएका हुन् ।

पन्थले रुरु धार्मिक सेवा सञ्चार प्राली रुरु धाम रिडीको समन्वयमा एक छाक भोजन, न्यानो टोपी, हात धुने साबुन र रुरुक्षेत्र ऋषीकेश मन्दिरका लागि २ महिनालाई फ्री इन्टरनेट सुविधा समेत प्रदान गरे । जन्म दिनको अवसरमा गरेको यस्तो पुनित कार्यको रुरु धार्मिक सेवा सञ्चार प्रालिले धन्यवाद ज्ञापन समेत गरेको छ । पन्थले अघिल्लो वर्ष गुल्मी सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा सहयोग गरेर जन्म दिन मनाएका थिए । अपाङ्गको क्षेत्रमा काम गर्दै आएको आशा अपा केन्द्रलाई उनले जन्म दिनको खर्च कटाएर न्यानो कपडा लगायतका सामग्री सहयोग गरेका थिए । जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानो भएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले केहि वर्ष यता जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको पन्थले बताए । मुख्य त जन्म दिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता आफुमा रहेको पन्थले बताए । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाका निवर्तमान अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update