Shittalpati
सिद्धार्थ बैंकले कर्जा अब  ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने

पाल्पा । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अब कर्जा ‘स्कोरकार्ड मोडल’ मा प्रदान गर्ने भएको छ । बैंकले लघु, साना तथा मझौला कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने भएको हो ।

सरल तथा सहज रुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सूचाड्ढहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया ‘स्कोरकार्ड मोडल’ को प्रारम्भ गरेको जनाएको छ । स्कोरकार्ड मोडल अन्तर्गत बैंकले एक करोडसम्मको लघु, साना तथा मझौला कर्जा प्रदान गर्ने छ । यो मोडलमा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ । यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । यस व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । यो बैंक नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त ‘क’ वर्गको एक निजी वाणिज्य बैंक हो । यस बैंकको स्थापना वि.सं. २०५९ सालमा भएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update