Shittalpati
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं । विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश मार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो । अध्यादेश मार्फत ऐनको दफा १५ को (ग) मा रहेको अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था खारेज गरिएको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेकाहरूले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । त्यस्तै कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भई बहाल रहेका व्यक्तिका लािग पनि यस्तो भत्ताको व्यवस्था गरिएको छैन ।

ऐनको यही दफामा टेकेर गत १७ असारमा गृहमन्त्री रामबहादुर थापाले विदेशी सरकारबाट नियमितरुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता बन्द गर्ने निर्णय गरेका थिए । गृहको यो परिपत्रपछि स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता दिन बन्द गरेका थिए । गृह मन्त्रालयको निर्णयको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), राष्ट्रिय भूतपूर्व सैनिक संगठन लगायतकाले विरोध गर्दै आएका थिए । पूर्व सैनिकहरूले गोरखा भूतपूर्व सैनिक संघर्ष समिति गठन गरेको यो निर्णयको विरोध गर्दै आएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update