Shittalpati
लेकाली स्वावलम्बन सहकारीको नवौं अधिवेशन, अध्यक्षमा अर्याल

रमेश विश्वकर्मा
गुल्मी, लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) तम्घास गुल्मीको अध्यक्षमा भुवन प्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार संस्थाको कार्यालय भएको नवौँ अधिवेशनबाट अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

२८ औं वार्षिक साधारणसभा एवम् नवौं अधिवेशनले ११ सदस्यीय सञ्चालक समिति निर्वाचित भएका छन् । उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा बलबहादुर कुँवर, कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित रहेको निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार सञ्चालक समितिको सदस्यहरुमा गोपिराज पन्थी, जिवलाल पन्थी, तोमप्रसाद पन्थी, पशुपति पाण्डे, विष्णुप्रसाद शर्मा तथा महिला सञ्चालक सदस्यहरुमा देवकला कुँवर, बसुन्धारा घिमिरे निर्वाचित भएका हुन् । अधिवेशनले तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ । जसको संयोजक शिवबहादुर कुँवर र सदस्यहरुमा डोलबहादुर कुँवर एवं राधा पन्थी निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको निर्वाचन अधिकृत कुँवरले सपथ ग्रहण गराएका हुन् ।

वार्षिक साधारण सभाको अवसरमा पूर्व सञ्चालक समितिका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । त्यस अवसरमा सञ्चालक समितिका निवर्तमान अध्यक्ष गोपाल पन्थीलाई सचिव, उपाध्यक्ष र अध्यक्षसम्मको गरिमामय पदमा रही संस्थाको श्रीवृद्धिमा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च समान गर्दै सम्मान गरिएको थियो । त्यस्तै पूर्व सञ्चालक समितिका सदस्यहरु पार्वती केसी, चेतमान कुँवर र चतुर्भुज पन्थीलाई पनि दोसल्ला, मायाको चिनो सहित सम्मानपत्रले सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि भक्तिराम मरासिनीले सहकारीले व्यक्तिसँग रहेको सानो पूँजीलाई एकिकृत गरेको बताए । उनले सहकारी नीति, विधि र प्रविधिबाट सञ्चालन हुने बताउँदै नवनिर्वाचित सहकारीका पदाधिकारीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरे । संस्थाका व्यवस्थापक कल्पना बस्नेतले २ हजार ८ सय ९ जना शेयर सदस्य तथा १ हजार २८ जना नाबालक शेयर सदस्य रहेका छन् । यस संस्थाले ३४ करोड २९ लाख लगानी गरेको छ । भने ४० करोड ९८ लाख बचत गरेको जानकारी दिइन् ।

जिल्ला बचत संघका अध्यक्ष श्यामकुमार पाण्डे, जिल्ला सहकारी संघका उपाध्यक्ष यमबहादुर थापा क्षेत्री, निवर्तमान लेखा सुपरिवेक्षण समिति संयोजक पदमप्रसाद पाण्डेले शुभकामना मन्तव्य र निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोपालप्रसाद पन्थीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । भुवनप्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्य तथा सचिव बलबहादुर कुँवरको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update