Shittalpati
नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण जारी

पाल्पा । नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण कार्य जारी राखेको छ । कम्पनीले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको हो । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठन–पाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराउदै आएको छ  । उक्त सिमकार्डमार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने छ । समूहमा आवद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न यो सिमकार्डले महत्वपूर्ण टेवा पुर्‍याउदै आएको छ । उनका अनुसार उक्त सुविधा प्रयोग गरेबापत मासिक रुपले लाग्ने शुल्क ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्य योजना २०७७’ अनुसार स्थानीय निकाय मार्फत सरकारले व्यहोर्ने छ । ९९ बराबरको शुल्कमा कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले एक थान निःशुल्क पाठशाला सिमकार्ड लिन सक्नेछन् । टेलिकमले ल्याएको यो योजनामा आवद्ध हुन कम्पनीको जिएसएम वा सिडिएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ ।

विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै प्रयोग गरिएको प्रिपेड सिमकार्डलाई योजनामा आवद्ध गर्न सकिने जनाइएको छ । प्रिपेड सिमकार्ड नहुनेका लागि निःशुल्क रुपमा नयाँ प्रिपेड सिमकार्ड लिन सक्ने छन् । सिमकार्ड लिन शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपि वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update