Shittalpati
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित

पाल्पा । खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट बञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ । कालीगण्डकी करिडोरको गौडाकोट, मुक्तिनाथ सडक खण्डको मङरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन् । सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको गुनासो छ । पहिलो बीस धाराबाट जमिन सिँचाइ गरी किसानले तीन खेती गर्दै आएका थिए । धान, मकै, गहुँ खेती गर्दै आएपनि सिँचाइ सुविधाको अभावमा अहिले मकैखेती मात्र गर्दै आएको स्थानीय बासिन्दा लीलामणि अधिकारीले गुनासो गरे । सडक विस्तारले सात वर्षदेखि अहिलेसम्म कुलोको नाम निशाना नरहेको स्थानीय बासिन्दा अधिकारीले बताए ।

झण्डै सात सय रोपनी जमिनमा अहिले सिँचाइको पहुँच छैन । सिँचाइको सहज पहुँच र अन्नबाली राम्रो हुने देखेर अधिकारी विसं २०६० मा पाल्पाको गुगाबाट बसाइँसराई गरेर आएका हुन् । ‘पहिला धान, मकै प्रशस्त उत्पादन हुने ठाउँ हो, हाम्रा बाहुबाजे मकै धान स्याङ्जाका मानिसलाई बेच्थ्यौं’, स्थानीयवासी प्रेम पन्थीले भने । सिँचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीय वासीको जीविकोपार्जनमा समस्या देखिएको छ । कालीगण्डकी करिडोर विस्तारपछि यहाँका स्थानीयवासीमा उत्साह थपिएको थियो । स्थानीयवासीले कालीगण्डकी करिडोरको सडक विस्तारले खानेपानीका धारा कुवासमेत छिन्नभिन्न भएपछि नदीको पानी बोकेर खानुपरेको छ । –रासस

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update