Shittalpati
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

पाल्पा । देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४ सय ५९ बालबालिकालाई दुई दिन भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा कोरोना र बडादशँैका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसअघि पनि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो । मुलुकका ७ सय ५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको छ । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र बालभिटा खुवाइन्छ । एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ । यस पटक जुकाको औषधि २४ लाख ८ हजार ३ सय ३० बालबालिकालाई खुवाउन थालिएको हो । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६÷६७ देखि बालभिटा खुवाउन थालिएको हो । यस्तै बालभिटा लागू भएका ४६ जिल्लामा पनि क्याप्सुल खुवाउन थालिएको छ । रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिन्छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update