Shittalpati
सक्षम नेतृत्वको आवश्यकता

मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको छ । नेपाली जनताको लामो बलिदानपछि देशले राजनितिक परिवर्तन पाएको हो । तर राजनितिक परिवर्तन भए पनि दक्ष र सक्षम नेतृत्वको उत्पादन भने हुन नसक्नु दुखद् हो । हुन त सबै नेताहरू असक्षम छन् भन्नु पनि गलत हुन सक्छन तर आवश्यकता अनुसार सक्षम नेतृत्वको विकास भने हुन नसकेकै हो ।

पहिलेको व्यवस्थालाई हेरेर नेता भएपछि कुर्सीमा बसेर हस्ताक्षर मात्र गर्ने हो, शानसँग जिउने हो भन्ने प्रवृत्तिले नेतृत्व तह नै असक्षम रहेको ठहर छ । नेतृत्व पंक्तिले नेतृत्व विकास गर्न अति आवश्यक छ । पछिल्लो समय जननिर्वाचित सरकारका कार्यशैलीबाट नागरिक नै सन्तुष्ट हुन सकेका छैनन् । राज्य वा हरेक व्यक्तिको आलोचना वा प्रशंसाको आधार उसको काम हो, योगदान हो । हालसम्म सरकारमा पुग्ने हरेक दल वा व्यक्ति विशेष जनताका लागि जुन जोगी आए पनि कानै चिरेका भनेझैं भएको छ ।

जनताले विकासको अनुभव गर्न पाएका छैनन् । विकासको मूल फुटाउने कुरा त पञ्चायतकालमा पनि हुने गरेको थियो । अहिले पनि विकासका ठूलाठूला कुरा हुने गरेका छन् । तर बहुमत प्राप्त सरकारका कामले समाजमा सकारात्मक प्रभाव पर्न सकेको छैन । देशको अवस्था जताततै लथालिंग छ । भताभुंग छ । मुलुकले सक्षम नेतृत्वको अभावका कारण नै अहिलेको अवस्थामा गुज्रनुपरेको हो । जननिर्वाचित बहुमतको सरकारले पनि काम गर्न नसक्नु मुलुकको दुर्भाग्य हो । विकास योजनाको कार्यान्वयन पक्ष सन्तोषजनक छैन । भ्रष्टाचार उस्तै छ । नागरिकमा सुशासनको अनुभूति हुन सकिरहेको छैन । यसरी हेर्दा नेपाल कम्युनिस्ट पार्टीको सर्वहारा भनिने नेतृत्वमा कार्यशैलीको खडेरी देखिन्छ । केही व्यक्ति र समूहले मात्र नेपाली राजनीतिलाई आयआर्जनको स्रोत बनाएका छन् । यसर्थ समाजलाई अमूक दल वा व्यक्तिभन्दा पनि देशलाई विकासको गतिमा अगाडि बढाउन सक्ने सक्षम नेत्वको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update