Shittalpati
स्वास्थ्य र पोषणमा सुधार ल्याउन नीति

इमान सिं राना
पाल्पा (रामपुर), रामपुर नगरपालिकाले हजार दिनका आमा तथा बालबालिका एवं नागरिकको स्वास्थ्य र पोषण अवस्थामा सुधार ल्याउनका लागि प्रतिवद्धता जनाएको छ । एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम प्रवद्र्धन गर्न नीतिले नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा र महिला तथा बालबालिका शाखालाई एकिकृत कार्यक्रम सञ्चालन गर्न जोड दिएको छ । रामपुर नगरपालिकाको आयोजना र बेस नेपाल, सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा भएको एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चतता सम्बन्धी गोष्ठी पश्चात निर्माण भएको नीतिले स्वास्थ्य सेवाको स्तरवृद्धिसंगै नगरलाई पूर्ण सरसफाई तथा पूर्ण पोषण युक्त र बालमैत्री नगर घोषणा गर्नमा जोड दिएको छ ।

नगरपालिका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रमुखहरुको सहभागितामा ४७ बुँदे नीतिहरु निर्माण गरी योजना सहित अघि बढ्ने भएको हो । नीतिमा नगरका सबै वडामा स्वास्थ्य तथा पोषण सम्बन्धी अभिमूखिकरण गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन प्रभावकारी बनाउने, महिला समूह, युवा समूह तथा क्लवहरुलाई सक्रिय बनाउने, टोल विकास समितिमा स्वास्थ्य सुधार गर्ने योजना लैजाने, स्थानीय बालमैैत्री शासन नगरका पूर्वाधारहरु विकास गरिने, नगरपालिकको तथ्यांक संकलन, अद्यावधिक तथा त्यसको सुरक्षण गर्ने, नगरपालिकाको जनस्वास्थ्य नीति बनाई गर्भवतीलाई प्रोत्साहन कार्यक्रम, पूर्ण संस्थागन सुत्केरी, पूर्णखोप प्रवद्र्धन, पूर्ण सरसफाई उन्मूखनगर, सुपोषित नगर, विद्यालय क्षेत्र अथवा हाताभित्र पत्रु खाना विस्थापित गर्दै स्थानीय उत्पादन तथा परिकारलाई बालबालिकाको दिवा खाजा व्यवस्था गर्ने लगायतका कुराहरु समेटिएको छ ।

नगरप्रमुख रमणबहादुर थापाले पोषण र स्वास्थ्य विकासको लागि अपरिहार्य रहेको भन्दै विषयगत शाखाहरुसंग समन्वय गर्दै कार्यान्वयनमा लैजाने बताए । उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले नीति निर्माणसंगै कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिइन् । सुआहारा केन्द्रिय कार्यालयका सिनियर म्यानेजर रविकिरण अधिकारी र बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले नेपालमा पोषण स्वास्थ्यको अवस्था, पोषणले विकासमा पार्ने प्रभाव र पोषण सुधारको लागि आवश्यक रणनीति तथा कार्यक्रमका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update