Shittalpati
गणेश सहकारीको साधारण सभा आफ्नै भवनबाट, ‘तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका’

रामचन्द्र रायमाझी
पाल्पा । गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनले सातौं साधारण सभा आफ्नै भवनमा गरेको छ । विगतमा कार्यालय भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएको सहकारीले बुधबारदेखि कारोबारसँगै सातौ साधारण सभा तानसेन ३ भगवती टोलस्थित आफ्नै भवनमा सञ्चालन गरेको हो । सहकारीले ९३ लाख ३१ हजार ६ सय रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको छ । सोही भवनबाटै संस्थाले आफ्नो सातौं साधारण सभा मनाएको छ । सभाको प्रमुख अतिथि तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख तथा सूचना अधिकारी दुर्गाबहादुर थापाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै थापाले संविधानले अंगिकार गरेको तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका कोर्न सकिने बताएका छन् । संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि राज्य, सहकारी र निजी क्षेत्र बीचको सहकार्यको अवधारणा अगाडि बढाएकाले सोही अनुसार अगाडि बढ्ने योजना तीनै तहका सरकारले बनाउन सकेमा मात्रै समृद्धिको अभियान सफल हुनेमा जोड दिए । प्रमुख थापाले सरकारले लिएको नीति सही रुपमा कार्यान्वयन गर्ने हो भने नेपालको समृद्धि छिटो र सहज रुपमा हुने दावी गर्दै सहकारीहरुलाई सहकारी नीति सही रुपमा कार्यन्वयन गर्न आग्रह गरे ।

उनले समृद्धिका लागि सहकारीको भूमिका प्रभावकारी रहेकाले सहकारीहरुले संख्यात्मक भन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिए । थापाले भने ‘सहकारी प्रतिको रुची र बढ्दो सदस्यता प्रतिको आकर्षणले सहकारी सदस्यहरुको संयुक्त लगानी र प्रयासमा नयाँ–नयाँ आयोजना सञ्चालन गर्ने वातावरणका लागि नगर सरकार समेत गम्भीर भएर लागेको छ ।’ उनले सहकारीहरुको विकास विस्तारका लागि स्थानीय सहकारी सञ्जाल समेत निर्माण गरी अगाडि बढेकाले ढुक्क भएर सहकारीमा लगानी बढाउन सहकारी संस्थामा आवद्ध व्यक्तिहरुलाई आग्रह समेत गरेका छन् । नगरसरकारको निरीक्षण, अनुगमन र प्रवद्र्धनमा रहेका सहकारी संस्थाहरु बिचको सञ्जाल निर्माणपछि स्थानीयतहका सहकारी संस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्न सहज भएको प्रमुख थापाले बताए । उनले सहकारीको कार्य प्रसंशनीय रहेको भन्दै आगामी दिनमा पनि सोही अनुरुप अगाडि बढ्न संस्थालाई आग्रह गरेका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुकबहादुर थापाले सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताएका छन् । उनले आर्थिक विकासका ३ खम्बा मध्ये सहकारी एक भएकाले पनि सहकारीको विकास र विस्तार भए मात्र देशको आर्थिक समृद्धि हुन सक्ने बताए । अध्यक्ष थापाले संस्थाको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । उनले आगामी कार्यक्रममा सहकारीको शेयर पूँजी वृद्धि गर्ने, कर्मचारी तलव वृद्धि गर्ने, सहकारीको नयाँ शाखा विस्तार गर्ने लगायतका विषयवस्तुहरुलाई समावेश गरेको जनाएका छन् । संस्थाका उपाध्यक्ष धनबहादुर गाहाले सहकारीमा सबै सदस्यहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । उनले संस्थाप्रति सबैले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका लेखा समितिका संयोजक विष्णु गाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीले स्थापनाकालदेखि नै शेयर सदस्यहरु बिच बैंकि· कारोबार, नियमित बचत, बालबचत, आवधिक बचत, दैनिकी बचत गर्ने जस्ता काम गर्दै आएको बताए । संयोजक गाहाले यसवर्ष सहकारीले ३४ लाख ९ हजार ९ सय ७३ खुद नाफा गर्न सफल भएको जानकारी दिए । उनले भने ‘गत वर्षको तुलनामा खुद नाफा दुई गुणाले वृद्धि भएको छ ।’ कार्यक्रममा कोषाध्यक्ष मनिषा रेस्मीले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को १ करोड, १५ लाख, ८५ हजार बराबरको आय–व्यय प्रस्तुत गरेकी थिइन् । भवन निर्माण समितिका संयोजक भद्रबहादुर थापाले समयमै भवन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रम संस्थाका अध्यक्ष रुकबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष धनबहादुर गाहाको स्वागत, सचिव दिलबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update