Shittalpati
कुमारी बैंकको बोनसदर बढ्यो, नगद लाभांशदर घट्यो

पाल्पा । कुमारी बैंक लिमिटेडको बोनसदर बढेको छ भने नगद लाभांशदर घटेको छ । बैंकले बोनस र नगद लाभांश संशोधन गरेसँगै दरमा परिवर्तन आएको हो । बैंकको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले यसअघि दिने भनिएको बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको गर्ने निर्णय गरेको थियो । शुक्रबारको निर्णय अनुसार अब सेयरधनीहरुले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पाउने छन् । यस अघि भने बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत नै लाभांश दिने घोषणा गरेको थियो । संशोधन प्रस्ताव अनुसार बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यस अघिको प्रस्तावित लाभांशको तुलनामा यसमा बोनसदर बढेको छ भने नगद लाभांशदर घटेको छ । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । बैंकले आव २०७५/७६, आव २०७४/२०७५र आव २०७३/२०७४ को नाफाबाट क्रमशः १०.५२, ८.५ र १२.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२/७३ मा भने बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update