Shittalpati
एनसेलको अभियान, कोरोना सम्बन्धी सचेतना

काठमाडौं (एजेन्सी) । फोन, इन्टरनेट मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको एनसेल आजियाटा लिमिटेडले कोरोना सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो अभियान सञ्चालन गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आमजनमानसमा सचेतना फैलाउने कार्यमा केन्द्रित रहदै अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अभियान सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूनिसेफ नेपालसँग सहकार्य गरेको छ । कोरोना भाइरस सम्बन्धी सचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथ सिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मूख्य उपायहरु– व्यक्ति–व्यक्ति बीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेला–बेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हातधुने सन्देशलाई व्यापक रुपमा फैलाईएको छ ।

यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने विषय सचेतनाका कार्यक्रमहरु अगाडि बढाएको छ । एनसेलका प्रमुखकार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस विषम् परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै हाल तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिवद्ध छौं । ‘निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमा धारणा राख्दै भने, ‘पूरै विश्व नै यस स्वास्थ्य संकटको विषम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जनसचेतनामूलक कार्यहरुले प्रमुख भूमिका राख्दछ । कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामका लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्‍याएको सहयोगको हामी प्रसंशा गर्दछौं । कोरोना भाइरस महामारीको प्रतिकार्यका लागि पुरा विश्वमा नै सरकारहरु, एनसेल जस्ता निजी क्षेत्रहरु र युनिसेफ जस्ता संस्थाहरु एकजुट भई यसको रोकथामको लागि कार्यहरु गरिरहेका छन् । हालको अवस्थामा कोरोना प्रतिकार्यका लागि नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य छ ।’ एनसेलले संकटको समयमा मानिसहरुलाई कोरोनाबाट बच्ने महत्वपूर्ण सन्देशहरु प्रवाहमा गरिएको सहयोग निकै नै महत्वपूर्ण रहेको नेपालका लागि यूनिसेफका प्रतिनिधि एल्के विस्चले भनिन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update