Shittalpati
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

वासिङटन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ । अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुबै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् । पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरी विजयको नजिक पुगेका छन् । बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् ।

अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो । पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । तर उनले आफू विजयी भएको घोषणा गर्न चाहेनन् । उनले भने, ‘म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।’ राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए । जसलाई स्वयं रिपब्लीकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए । विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए । नेभादाबाहेक सबै राज्यमा ट्रम्पले अग्रता लिएका छन् । कुल ६ इलेक्टोरल भोट रहेको नेभादा जितेमा बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने लगभग निश्चित हुनेछ । त्यस्तै जर्जियामा अझै ९० हजार जति मत गन्न बाँकी रहेकाले त्यहाँ पनि बाइडेनले जित्न सक्ने डेमोक्रेटिक पार्टीले दाबी गरेको छ । ट्रम्पले भने बाइडेनलाई हराउन मतगणना जारी रहेका सबै राज्य जित्नुपर्ने आवश्यक देखिएको छ । –(रासस–एपी)

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update