Shittalpati
उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता

गुल्मी । उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । जिल्लाको मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेड बिच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो । नगर सरकार र बैंक बिच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाले उद्यम गर्न चाहने नागरिकहरुलाई मध्यनजर गर्दै सहुलियतपूर्ण कर्जाको लागि बैंक सँग सम्झौता गरेको जनाएको छ । सम्झौता अनुसार नगरपालिकाले ब्याज सहुलियतका लागि केहि रकम बैंकमा धरौंटीको रुपमा राख्नेछ भने बैंकले नगरपालिकाको सिफारिसमा उद्यम गर्न चाहनेहरुलाई सहुलियत ब्याजदर वा निःशुल्क व्याजदरमा कर्जा प्रवाह गर्ने छ । धितो भएसम्म धितोको प्रक्रियालाई प्राथमिकता दिइने तर कसैसँग उद्यम गर्न चाहना भएको तर धितो कै समस्याले कर्जा लिन नसक्नेहरुलाई नगरपालिकाले बिना धितो समेत कर्जा प्रवाहमा सहयोग गर्ने भएको जनाइएको छ ।

उद्यम गर्न चाहनेहरुका लागि नेपाल सरकारका विभिन्न कार्यक्रम तथा नगरपालिकाको समेत सहयोगमा सहुलियत दरमा ऋण प्रवाह गरिन लागेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २० करोड ऋण रकम प्रवाह गर्ने योजना रहेको र प्रत्येक वडाबाट छनौटमा पर्ने इच्छुक व्यक्तिहरुलाई बैंक मार्फत ऋण प्रवाह गरिने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । बैंकले निब्र्याजी देखि ३.८८ प्रतिशत सम्म ऋण प्रवाह गर्ने र सो ऋणको बाँकी व्याज भुक्तानी नेपाल सरकार तथा नगरपालिकाले गर्ने गरी सम्झौता गरिएको हो । बैंकले उद्यम गर्न चाहेको प्रकृति अनुसार प्रतिव्यक्ती १५ लाख बढीसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सक्ने र उद्यमीका लागि दिइने कर्जामा कुनै पनि सेवा शुल्क नलाग्ने बैंक वामीटक्सार शाखाका प्रमुख राजु अर्यालले बताए । सो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख सोमनाथ सापकोटा र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update