Shittalpati
धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै गएको छ । गाउँपालिकाले सहकारी मार्फत जिउँदो खसी बोकाको निर्यात गरिहेको छ । धुर्कोट गाउँपालिकाले अहिलेसम्म कुल पाँच लाख ८२ हजार बराबरको जिउँदो खसी बोका विक्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । धुर्कोटमा बाख्राको उत्पादन र पर्वद्धनको लागि गाउँपालिका, हेफर प्रोजेक्ट र स्थानीय संघसंस्थाहरु मिलेर बाख्रापालनमा अगाडि बढिरहेको हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम अधिकृत विष्णु पाण्डेले बताए । हेफर इन्टरनेश्नलले वीउ बाख्रा वितरण गरेपछि त्यसबाट उत्पादन भएका बोकाहरुको विक्री गर्दा कृषकले उचित मूल्य प्राप्त गरेको हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम अधिकृत सरोजकुमार श्रेष्ठले बताए ।

खसी बोका सामूहिक रुपमा विक्री गरिएको छ । खसी बोका विक्रीबाट कृषि तथा पशुपालन गर्नेमा हौसला थपिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रलेले बताए । कृषकले उत्पादन गरेका उपजको सुनिश्चत र उचित मूल्य दिइरहेको गाउँपालिकाका उपाध्यक्ष शिवबहादुर खत्रीले बताए । मासुको बजारीकरणमा ग्यारेण्टी रहेको अध्यक्ष पोख्रेलको भनाई रहेको छ । धुर्कोट गाउँपालिकामा कृषि र पशुको सम्भावना बढी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए । धुर्कोट गाउँपालिकाले सामूहिक रुपमा विक्री गर्दा जिउँदो २० केजी भन्दा कमलाई प्रतिकेजी ४ सय २५ रुपैयाँ, २१ केजीदेखि २९ केजी सम्मकोलाई ४ सय ५० रुपैयाँ, ३० देखि ३९ केजी सम्मकोलाई ४ सय ७५ रुपैयाँ र ४० केजी माथि रहेकोलाई प्रतिकेजी ५ सय रुपैयाँ मूल्य तोकिएको गाउँपालिका पशु विकास शाखाका प्रमुख श्याम कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update