Shittalpati
हिरण्यलाल श्रेष्ठको योगदानलाई यसर्थ तानसेनले सम्झियो

गोविन्द भट्टराई
पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष–२०७५ को प्रथम साधारणसभा २०७६ माघ १८ मा सम्पन्न भएको छ । कोषका संयोजक वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको सभापतित्व तथा संरक्षक एवम् तानसेन नगर प्रमुख अशोककुमार शाहीको आतिथ्यतामा सम्पन्न सभामा स्वागत मन्तव्य कोषका सहसंयोजक तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राख्नु भएको थियो ।

कोषका सदस्य सचिव गोविन्द भट्टराईको सञ्चालन तथा कोषका सदस्य एवम् नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालको माइन्यूट लेखनमा सभा चलेको थियो । सभामा वरिष्ठ पत्रकार एव्म व्यक्तित्व सिफारिस समितिका संयोजक दिल साहनीले सिफारिस गरिएका व्यक्तित्वहरु क्रमशः हिरण्यलाल श्रेष्ठ, भैरव रिसाल र अर्जुन ज्ञवालीको नाम सिफारिस गर्नुको औचित्यबारे प्रकाश पार्नु भएको थियो । सभामा संयोजक, सहसंयोजक, सिफारिस समितिका सदस्य बरिष्ठ पत्रकार मेघराज शर्मा तथा अन्य सदस्यहरुले सिफारिस ब्यक्तित्वहरुको बारेमा आआफ्नो राय प्रकट गर्नु भएको थियो । हिरण्यलाल श्रेष्ठलाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्रदान गर्नु पर्दछ भन्ने सर्वसम्मत निर्णय भएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा तथा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारकालागि तानसेन नगरकार्यपालिकाको गठन आदेश २०७५ बाट पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ सञ्चालक समिति गठन भएको हो । नेपालको पत्रकारिता क्षेत्रमा आजिवन समर्पित भएर पत्रकारिताको माध्यमबाट राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र लोकतन्त्रको संस्थागत विकासको निम्ति पत्रकारिता तथा लेखन क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याएका एकजना वरिष्ठ पत्रकारलाई हरेकवर्ष पुष्पलालको जन्म जयन्तीको अवसरमा असार १४ गते उक्त पुरस्कार प्रदान गरिने निर्णयसहित कोष क्रियाशील रहेको छ । कोषमा पत्रकारिता र लेखनसँग जोडिएका विभिन्न क्षेत्रमा स्थापित पत्रकार तथा लेखकहरुको समावेशी सहभागतिा रहेको छ । राष्ट्रिय स्तरको समिति हुनाले नगरकार्यपालिकाले पाल्पा बाहिरबाट पनि समितिमा निश्चित ब्यक्तित्वहरुको सहभागिता गराएको पाइन्छ । कोषको वर्तमान स्वरुप २०७५ माघ ८ गते तय भएकोले सोही आधारमा प्रथम बार्षिक साधारणसभा आयोजना गरिएको हो ।
कोषको मुख्य उद्देश्य निम्न अनुसार छ–
(क) लोकतन्त्रका मूर्धन्य ब्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्मरणीय बनाउने ।
(ख) मर्यादित र पेशागत पत्रकारिताको विकास गर्न नेपाली पत्रकारहरुलाई प्रोत्साहित गर्नु ।
(ग) राष्ट्रियता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायका लागि पैरवी गर्ने ।

कोषको अवस्था : तानसेन नगरपालिका पाल्पाद्वारा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ मा २०७४ देखि हालसम्म नगरपालिकाले अक्षयकोषको रुपमा रहनेगरी पहिलो पटक एकमुष्ठ १० लाख र दोस्रो पटक ५ लाख समेत ३ वर्षको रु १५ लाख निकासा गरिगरिसकिएको छ । उक्त रकम नेपाल बंैक लिं. तानसेनमा समितिको नाममा मुद्दती खातामा जम्मा गरिएको छ । मुद्दती खाताबाट प्राप्त ब्याज मात्र खर्च गर्न सकिने मूलधन मास्न नपाइने प्रावधान रहेको छ । संयोजक र सदस्य सचिवको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने व्यवस्था रहेको छ । पुरस्कार कोषको रकम बृद्धि गर्ने उद्देश्यले अन्य स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई समेत सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
कोषको वैधानिकता :
मिति २०७५ माघ ८ गते गठित यस समितिलाई तानसेन नगरपालिकामा (२०७६ असार ३१ गते द.नं. ००१) दर्ता गर्नुका साथै प्रदेश नं ५, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समेत (२०७६ असोज १३, द.नं. ००३/०७६/०७७) दर्ता गरिएको छ ।

कोषका महत्वपूर्ण बैठक र उल्लेखनीय निर्णय : कोषको पहिलो बैठक २०७५ चैत्र २२ गते संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको थियो । कोषको बैठक ६/६ महिनामा बस्ने वैधानिक ब्यवस्था हुनाले तत्काल कामका लागि बैठकले आवश्यक कायार्थ शम्भु श्रेष्ठ संयोजक, मेघराज शर्मा, गोपाल बस्याल, सन्तोष खनाल र गोविन्द भट्टराई रहेको कार्यसम्पादन समिति गठन गरेको थियो । संस्थाको विधान, नियमावली, कार्यविधि मस्यौदाका लागि सदस्य राजेशकुमार अर्याल संयोजक, सदस्यहरु झपेन्द्र गहिरे, प्रेस संगठनको प्रतिनिधि, गणेश ज्ञवाली, सुशीला श्रेष्ठ रहेको उपसमिति गठन गरेको थियो । उपसमितिहरुले आफ्नो काम सम्पादन गरेका छन् ।

कोषको दोस्रो बैठक २०७६ असार १८ गते र तेस्रो बैठक २०७६ असार १९ गते सम्पन्न भयो । ती बैठकमा कोषको विधान, कार्यविधि पारित गरिनुका साथै कोष दर्ता गर्ने, बैंक खाता खोल्ने, कोषको छाप, लोगो तयार गर्ने लगायतका निर्णय गरेको थियो । निर्णय अनुसार काम सम्पादन गरिएको जानकारी गराउन चाहन्छु । समितिको चौथौ बैठक २०७६ भाद्र ६ गते बसेर विभिन्न निर्णय गरेको थियो । सोही बैठकले पहिलो पटक पुरस्कार प्रदान गर्नका लागि कोषका सदस्य दिल साहनी संयोजक, सदस्यहरु मेघराज शर्मा र सुशीला श्रेष्ठ रहेको ब्यक्तित्व सिफारिस उपसमिति गठन गरेको थियो । उपसमितिले तोकिएकै मितिमा प्रतिवेदन बुझाएको थियो । प्रथम साधारणसभाले साधारण सभाले कोषलाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा विकसित गर्दै नेपाली समाजको रूपान्तरण र विकासमा पत्रकारिताका माध्यमबाट योगदान गर्ने व्यक्तिहरुको सूची बनाई सम्मानित गर्दै जाने नीति अघि सारेको छ ।

सभाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा तानसेन नगरपालिकाद्वारा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदानगर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ । वरिष्ठ पत्रकार दिल साहनीको संयोजकत्वमा गठित सिफारिस समितिले पुष्पलालका समकालीन, राष्ट्रियता र देशभक्तिका मुद्दामा सदैव दृढ रहनुभएका डेली डायरी साप्ताहिक, रातो युगधारा साप्ताहिक र जन जागृति साप्तहिकका प्रधान सम्पादक, विभिन्न पुस्तकका लेखक हिरण्यलाल श्रेष्ठलाई पुरस्कार प्रदान गर्दा कोषको गरिमा र ओज बढ्ने रायसहित सिफारिस गरेको थियो । जनजागृतिमा लेखेको सम्पादकीयले तत्कालीन व्यवस्थालाई आघात पुगेको निहँुमा हिरण्यलाललाई ३ वर्ष कैद सजाय भएको थियो । राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताका पक्षमा दृढताका साथ उभिनुभएका, पुष्पलालको विचार र योगदानलाई पत्रकारिताका माध्यमबाट जनजनमा पु¥याउन सशक्त भूमिका निर्वाह गर्नुभएका श्रेष्ठ नेपाली पत्रकारितामा सिद्धहस्त व्यक्ति हुनुहुन्छ । पुरस्कारको राशी १ लाख ११हजार १ सय ११ रूपैंयाँ रहेको छ । पुष्पलालको जन्मदिनको अवसर पारेर २०७७ सालको असार १४ गते तानसेनमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने निर्णय भएको छ ।

सल्लाहकारको निधन : यसबीचमा समितिका सल्लाहकार तथा सूचना आयोगका संस्थापक प्रमुख आयुक्त विनयकुमार कसजूको २०७६ मंसिर १० गते निधन भएको खवरले हामी दुखीत छौं । कोषलाई अपुरणीय क्षती पुगेको छ । कसजूको स्मृतिमा समितिले मंसिर १८ गते कोषका जेष्ठ सदस्य मेघराज शर्माको अध्यक्षता, संरक्षक तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही लगायत विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागितामा शोक सभा आयोजना गरेको थियो ।

यसैगरी १३ औं पूण्य तिथिमा काठमाडौँमा आयोजित श्रद्धाञ्जली सभामा समितिका संयोजक र सदस्य सचिव सहभागी भएर दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारमा समवेदना प्रकट गर्नुका साथै तानसेनमा पारित शोक प्रस्ताव समेत प्रस्तुत गरिएको थियो । कोषको मर्म आत्मसात गर्दै पुरस्कारलाई ओझिलो तथा गरिमामय बनाउनका लागि कोषमा रहनु भएका सबैको सहयोगको खाँचो छ भन्ने मर्म आत्मसात गर्दै सक्रिय सहयोगका लागि सबैसँग आग्रह गर्दछु । साथै नेपाली नागरिकको हितका लागि आजीवन संघर्षरत लोकतन्त्रका मूर्धन्य व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्मरणीय बनाउने तथा मर्यादित र पेशागत पत्रकारिताको विकास गर्न नेपाली पत्रकारहरुलाई प्रोत्साहित गर्ने र राष्ट्रियता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायका लागि पैरवी गर्न बल पु¥याउने मूल उद्देश्यले पुरस्कार स्थापनाका लागि सहयोग गर्ने नगरप्रमुख लगायत तानसेन नगरकार्यपालिका परिवार र प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस कोषलाई सहयोग गर्ने सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गर्दछु ।
      (लेखक पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष(२०७५ का सदस्य सचिव हुन् ।)

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update