Shittalpati
गुल्मीको रेसुङ्गामा पौवा रिसोर्ट सञ्चालन

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक एवम पर्यटकीयस्थल रेसुङ्गामा होटल पौवा प्रालिले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको छ । रेसुङ्गामा सोमबार पत्रकार सम्मेलन गरी पौवा रिसोर्ट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । १० करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनका लागि पौवा होटललाई रेसुङ्गा नगरपालिकाले अनुमति प्रदान  गरेको  छ । २०७६ कात्तिकबाट निर्माण सुरु गरी २०७७ असोजबाट सञ्चालन गर्ने गरी रेसुङ्गा नगरपालिका र पौवा होटलबीच सम्झौता भएको थियो । रेसुङ्गा पोखरी क्षेत्र नजिकै ३० रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालनमा आएको हो । होटेलले २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न पाउने सम्झौतामा उल्लेख छ ।

रिसोर्टमा अहिले दुई करोड लगानी गरिएको छ । यसमा १० करोड भन्दा बढी लगानी गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले बताए । यसबाट पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने भण्डारीले विश्वास व्यक्त गरे । पौवाले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाई भाडा बुझाउनुपर्ने छैन । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, त्यसपछिका पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको १० वर्षको लागि एक लाखका दरले भाडा बुझाउने सम्झौतमा उल्लेख छ । २५ बर्षपछि यहाँ निर्माण गरेका सबैं संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने बताईएको छ । लुम्बिनी प्रदेशकै ऐतिहासिक पवित्र पवित्रस्थल रेसुङ्गा भूमिको भर्जिनिटीलाई जोगाइ राख्दै उत्कृष्ट सेवा प्रदान गर्ने पौवा रिसोर्टको लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताए । होटल पौवाका प्रबन्ध निर्देशक बिष्णु ज्ञवालीले रेसुङ्गाको प्रचार–प्रसार गर्दै बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्नका लागि होटल पौवाको आतिथ्यताले ठूलो मद्दत मिल्ने विश्वास व्यक्त गरे । ‘हामीले उत्कृष्ट सेवा र नेपाली अतिथ्यताले विगतदेखि नै हाम्रा उपभोक्ताहरुलाई सन्तुष्टि दिँदै आएका छौँ ’ ज्ञवालीले भने । पौवा रिसोर्टले कात्तिक २२, २३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी गरेको बताईएको छ । रेसुङगा, पाल्पा, बुटवल, भैरहवा, गोरुसिङ्गे, भालुवाङ, लमही, जुम्लावाट सेवा दिदै आएको पौवाले देशभरबाट आफ्नो सेवा दिने लक्ष्य रहेको पौवा रिसोर्ट सञ्चालक धुर्व न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update