Shittalpati
सिमसार दिवस र यसको सार्थकता

हरेक वर्ष फ्रेब्रुअरी २ का दिन विश्व सिमसार दिवस मनाइने गरिन्छ । यस वर्ष पनि आइतबार विविध कार्यक्रम गरी दिवस मनाइएको छ । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने शहरमा भएको थियो । सन्धि भएको दिनको सम्झनास्वरुप सन् १९८५ फ्रेब्रुअरी २ देखि विश्व सिमसार दिवस मनाउन थालिए पनि नेपालमा भने १९९१ देखि मनाउन थालिएको हो । सामान्यतया सिमसार भनेको पानीले भिजेको क्षेत्र हो । नेपाल राष्ट्रिय सिमसार नीति,२०५९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । यसर्थ सिमसार रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन ।

सिमसारका दुई मुख्य विशेषता पानी र जमिनसँगै हुनु हो । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्दछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्छ । सिमसार संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले नै गराउँछ ।

सिमसारमा आश्रित समुदायको गरिबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । जलवायु, भौगोलिक स्वरुप, भूगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरुले गर्दा सिमसारहरुमा लाखौं रैथाने तथा घुमन्ते (आगन्तुक) चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोटविरुवाको विविधता पाइन्छ । सिमसार क्षेत्रहरुमा सबैभन्दा बढी जल सोचन हुने भएकाले बाढी लगायतका प्रकोप न्यूनीकरणमा समेत उल्लेख्य भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

भविष्यको स्वच्छ तथा सन्तुलित पर्यावरणको लागि पनि सिमसारको संरक्षण आज प्राथमिकताको विषय बनेको छ । तर, नेपालका सिमसार क्षेत्रहरु दिनानुदिन नासिँदै गएको विडम्बनापूर्ण अवस्था छ । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ । सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात गर्दै यसको संरक्षण र संवद्र्धनमा यथोचित ध्यान दिनुपर्छ । सिमसार संरक्षण र यसको दिगो उपयोगमा रैथाने समुदाय, सरोकारवाला निकाय,संरक्षणकर्मी र आम सर्वसाधारणसँग सहकार्य गरी पूर्णरुपमा सिमसारमा आश्रित समुदायलाई वैकल्पिक आयआर्जनतर्फ पनि उन्मूख गराउनुपर्छ । तब मात्र यस प्रकारका दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update