Shittalpati
जोखिम कम गर्न सीप सिकौं

सीपले मानिसलाई आत्मनिर्भर बनाउनुको साथै जोखिम कम गर्न महत्वपूर्ण टेवा पुग्दछ । हातमा सीप भए भोकै मर्न पर्दैन । हातमा सीप नभएपछि विदेशमा होस् या स्वदेशमा जोखिमयुक्त काम गर्नुपर्छ । ज्याला पनि कम पाइन्छ । तर पनि कतिपयले सीपको महत्व नबुझेको पाइन्छ । हाम्रो समाजमा कामको विभेद गर्नाले पनि काम गर्नमा ठूलो बाधा उत्पन्न गरेको छ । नेपालमा जे पायो त्यही काम नगर्ने तर विदेशमा जे पनि गर्ने । त्यही काम नेपालमा नगर्ने तर विदेशमा गएर जोखिम मोलेर गर्ने प्रवृत्ति छ । अरुले के भन्लान् भन्ने पनि छ । तर वास्तविकता त्यस्तो होइन । विदेशमा पनि पैसाको बोट छैन । अर्काको लहलहैमा लागेर विदेश जाँदा दुःख मात्र पाइन्छ ।

आफ्नै देशमा काम पाउन त कति दुःख गर्नुपर्छ भने अरुको देशमा फूलमाला लगाएर काम दिँदैनन् । पढाइसँगै सीप पनि आवश्यक पर्छ । सीप त सुरक्षा कवच हो । चाहे विदेशमा होस् या स्वदेशमा । सीप हुनेले जोखिमसँग लड्न सक्छ । तुलनात्मक हिसाबले कमाइ पनि बढी हुन्छ । कतिपय त विदेश जाने भनेर सीप सिकेका र पछि सिकेपछि स्वदेशमै काम गरेका उदाहरण पनि छन् ।

विदेशी भूमिमा गरिने दुःखको मोल र स्वदेशमा बगाइने पसिनाको मोल दाँजेर हेर्दा स्वदेशको रोजगारी नै दिगो र दरिलो हुनेमा दुईमत छैन । नेपालीहरूको धारणा के छ भने सीप सिकेर मात्र के गर्नु ? खर्च मात्रै गरेर के गर्ने ? बरु विदेश गइयो भने एकमुष्ट कमाइ भइहाल्छ अनि विदेशी पैसालाई नेपालमा आई सुखसयलको जीवनयापन गरौं र विवाह गरी घरजम गरांै भन्ने मात्रैै छ, तर के विदेशिनु र कमाउनु मात्र ठीक हो ? यही निर्णय लिनु सही हो त ? खाडीका देशमा नेपालको श्रम बजारको भन्दा धेरै कमाइ हुँदैन । दुई चार हजार फरक पर्ला तर सामान्य लेबरको काममा विदेश जानेले मेहनत गर्ने हो भने त्यती रकम हातमा सीप हुनेले परिवारसँग बसेर यही पनि कमाउन सकिन्छ । देश र परिवार छाडेर जान पर्दैन । त्यसैले जोखिम कम गर्न हातमा सीप सिक्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update