Shittalpati
गुल्मीदरबार गाउँ सरकारले गर्‍यो वार्षिक प्रगतिको समीक्षा

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँ सरकारले वार्षिक प्रगति समीक्षा गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा गरेको हो । गाउँपालिकाले एक वर्षको अवधिमा भए गरेका विभिन्न क्रियाकलापहरुको विषयमा समीक्षा गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए । उनका अनुसार गाउँपालिकामा रहेका विभिन्न शाखाहरु र गाउँपालिका भित्रका वडाहरुले एक वर्षको अवधिमा गरेका विभिन्न क्रियाकलापहरुको बारेमा समीक्षा गरिएको छ ।

प्रशासन योजना तथा अनुगमन शाखाबाट अधिकृत टंकप्रसाद पन्थी, सामाजिक तथा आर्थिक विकास शाखाबाट अधिकृत नवराज घिमिरे, स्वास्थ्य शाखाबाट स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल, शिक्षा युवा तथा खेलकुद शाखाबाट शिक्षा अधिकृत सुन्दर चालिसे, पुर्वाधार विकास शाखाबाट ईन्जिनियर राजु अर्याल, सूचना प्रविधि शाखाबाट सूचना प्रविधि अधिकृत सुरेश खनाल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ता राजन घिमिरे, रोजगार सेवा केन्द्रबाट रोजगार संयोजक निर्मला पाण्डे, पशुपंक्षी विकास शाखाबाट अधिकृत उजेलीदेवी पोख्रेल, कृषि शाखाबाट ना.प्रा.स. लिलबहादुर घर्ती, जिन्सी शाखाबाट नासु भिमसेन थापा, राजस्व प्रशासन शाखाबाट लेखापाल तेजेन्द्र थापा, आर्थिक प्रशासन शाखाबाट अधिकृत भविष्य अर्याल, आतरिक लेखा परीक्षण शाखाबाट आ.ले.प सहायक टेकराज घिमिरे लगायतले आ–आफ्नो शाखाले एक वर्षको अवधिमा भए गरेका क्रियाकलापहरुको विषयमा जानकारी गराएका थिए ।

वडा सचिवहरुले आ–आफ्नो वडामा भए गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न गरेका काम, आइलागेका समस्या र समधानका उपाय समेत वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिंदै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले गाउँपालिकामा सुशासन, पारदर्शिता र विश्वसनीय कायम गर्न पालिकाका प्रत्येक गतिबिधि देशमै पहिलोपटक मासिक ई–बुलेटिन मार्फत सार्वजनिक गरिरहेको बताए । उनले योजना फ्रीज हुन नदिन अब बार्षिक क्यालेन्डर अनुरुप काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

अघिल्लो बर्षको अपेक्षित नतिजा हाँसिल गर्न कोरोना भाइरसका कारण नसकिएको गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले बताए । उनले कोरोनाका कारण सिङ्गो देश नै आर्थिक संकटमा हुँदा गाउँपालिका पनि त्यसबाट अछुतो नरहेको भन्दै संकटकै बिचमा पनि काम गर्नु पर्ने बाध्यता रहेको बताए । उनले महामारीको सामना गर्ने काममा जुट्न सबै पक्षलाई आग्रह गरे । उनले कार्यक्रममा उठेका सुझावलाई आगामी आर्थिक बर्षमा सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरे । वार्षिक प्रगति समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधिहरु, गाउँपालिका स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकार सरोकारवालाहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update