Shittalpati
सहिद दिवस र सार्थकता

आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको हो । सहिद दिवसका अवसरमा देश र जनताको लागि जीवनकै आहुती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागि बर्षमा एकपटक सम्झेजस्तो गर्ने प्रवृत्तीले सहिद दिवस औपचारिकतामा सीमित हुने गर्दछ ।

देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौं व्यक्तिले ज्यानको आहुती दिएता पनि सहिदका कैयौ सपना पूरा भएका छैनन् । पछिल्ला वर्षहरुमा हरेक सरकार परिवर्तनसँगै सहिद घोषणा गर्ने राजनीतिक विकृतिले सहिदको सम्मानमा केही आँच आएको पक्कै हो । सरकारको घोषणालाई जो कोहीलाई पनि सहिद मान्नुपर्ने र राज्यको पहुँचमा नपुगेकाहरु जस्तोसुकै बलिदानी आन्दोलनमा मारिंदा पनि सहिद नमानिनु गलत हो । माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाइन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको माघ १० देखि १५ गतेसम्म फरक–फरक मितिमा हत्या गरिएको थियो ।

नेपालमै पहिलोपटक प्रजापरिषद् नामक दल स्थापना गरेर उनीहरुले राणाविरोधी आन्दोलन नगरेको भएपनि त्यति सहजै राणा शासन ढल्ने थिएन । राणा शासन ढल्नु भनेको नेपाली राजनीति आधुनिक चरणमा प्रवेश गर्नु त हो नै, अधिकार प्राप्तिको आन्दोलन नयाँ अध्यायमा प्रवेश गर्नु पनि हो । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनहरु नयाँ चरणमा प्रवेश गरे र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु त्यसैको देन हो भन्दा अत्यूक्ति नहोला ।

यसर्थ पनि निजी र दलगत स्वार्थबाट माथि उठेर सहिदको सम्मान गर्न जरुरी छ । औपचारिकताका लागि मात्र सहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको शतमार्ग हिँड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै सहिद प्रतिको सच्चा सम्मान हो । जुन उद्देश्य र लक्ष्यका साथ सहिदहरुले सहादत प्राप्त गरेका थिए त्यहि उद्देश्य र लक्ष्य हासिल गर्न प्रतिवद्ध भै लागेमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्ने छ । देशमा देखिएको वर्तमान संकटपूर्ण घडीलाई सहिदहरुले देखाएको मार्गको माध्यमबाट निकाश पहिल्याई शान्ति कायम गर्ने मार्गमा लाग्न अब ढिला गरिनु हँदैन । सरकार र राजनितिक दलहरुले आ–आफ्ना हठ र दलीय स्वार्थभन्दा माथि उठेर सहिदले देखाएको बाटो पहिल्याउँदै देश र जनताको हितमा काम गर्न सकेको खण्डमा नै सहिद प्रतिको सच्चा सम्मान र दिवस मनाउनुको सार्थकता ठहर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update