Shittalpati
पाल्पामा बालीघरे प्रथा कायमै

भुवन रायमाझी
पाल्पा (छहरा) । जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका जुद्वबहादुर विक एक आरान व्यवसायी हुन् । उनको यस्तो काम वर्षैभरी चल्छ । यतीधेरै काम भएपछि उनको कमाई पनि राम्रै हुन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ । तर, उनी वर्ष भरिको आफ्नो पारिश्रमिक अन्नपात लिएर चित्त बुझाउँछन् । उमेरले ४६ नाघिसकेका विकले वर्षभरि गाउँका आफ्ना विष्टको हसिया, कोदालो लगायत कृषि औजार बनाए वापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा मकै र धान लिने गरेका छन् । सदियौदेखि चलिआएको बालिघरे प्रथा निर्मुल हुन नसक्दा आफुले काम गरेवापतको मूल्य नपाएको उनको गुनासो छ । वर्षमा दुई चार पाथी अन्नकै भरमा उनले जिवीको चलाउँदै आएका छन् ।


अर्का रिब्दीकोट गाउँपालिका ३ का भैरम विश्वकर्मा पनि वर्षौदेखि आरन व्यवसायी गर्दै आएका छन् । उनले पनि गाउँका विष्टहरुबाट वर्षको एक पटक अन्न उठाउँदै आएका छन् । वर्षभरी काम गरे वापत उनलाई चाडपर्वको बेला गाउँका विष्टहरुले एक/दुई पाथी अन्न दिने गर्दछन् । त्यहीबाट नै उनले आफ्नो जीवननिर्वाह गर्दै आएका छन् । जुद्वबहादुर र भैरम त केही प्रतिनिधी पात्र मात्र हुन् । उनीहरु जस्तै जिल्लाका ग्रामीण क्षेत्रका दलित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पारिश्रमिक वापत अहिले पनि अन्नपातमै चित्त बुझाउनु परिरहेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपर पनि अहिलेसम्म बालिघरे प्रथा कायमै छ ।

परम्परागत आरन व्यवसायी गरेर गुजरा चलाउनेहरु अहिले समस्यामा मात्र परेका छैनन् उनीहरुको पेशा नै संकटमा पर्ने अवस्था आएको छ । सरकारले दलित वर्गका नाममा करोडौं रकम छुट्याए पनि उनीहरुको पेशालाई आधुनिकरण गर्न तर्फ ध्यान दिन नसक्दा आरन व्यवसाय संकटमा पर्न थालेको हो । जिल्लाका कतिपय स्थानीय तहहरुले परम्परागत आरन व्यवसायमा सुधार गरी दलित समुदायका युवालाई स्थानीय स्तरमा स्वरोजगार बनाउने कार्यक्रम लागु गरे पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन । रैनादेवी छहराको भुवनपोखरीका दलित समुदाय अहिले पनि बाली घरे प्रथामा काम गर्न बाध्य छन् । स्थानीय तहबाट आरन पेशा सुधारका लागि तालिमसँगै अनुदानको व्यवस्था भएपनि त्यो दलित समुदाय सम्म पुग्न नसक्दा पूख्र्यौली पेशाका गरेर जीवीकोपार्जन गर्नेहरु मारमा परेका छन् । दलित समुदायका युवाहरुले बालीघरे प्रथाका कारण यो पेशा प्रति चासो दिएको देखिदैन् । परम्परागत पेशा आधुनिक र व्यावसायिक नबन्दा आर्थिक अभावका कारण गाउँ छाडेर पढाईसंगै अन्य पेशामा लाग्नुपर्ने बाध्यता रहेको दलित युवा सुमन विक बताउँछन् । कृषि पेशा गर्नेका लागि हसिया, कुटो, कोदालो, बन्चरो र अन्य विभिन्न कामका लागि आवश्यक पर्ने धारिलो हतियार बनाउन दैनिक आगोको रापमा तातेको फलामसँगै पसिना बगाउँदा समेत स्थानीय सरकारले आरन सुधार र बालीघरे प्रथा हटाउन नसकेको दलित समुदायका अगुवाहरुको गुनासो छ ।

बाबु बाजेको पालादेखि गर्दै आएको लोपोन्मूख परम्परागत आरन पेशालाई सुधार गर्न बालीघरे प्रथाको अन्त्य गरी आधुनिक र व्यवसायिक रुपले आरन पेशा सञ्चालन नगरे आरन व्यवसाय सकंटमा पर्ने स्थानीय शिक्षक चन्द्रमणी पौडेलले बताए । आरन पेशामा युवालाई आकर्षित गरी परम्परागत पेशाको संरक्षणसँग आम्दानी गराउने तर्फ स्थानीय सरकारको भूमिका प्रभावकारी हुन सकेको छैन । जिल्लामा आरन व्यावसायीको तथ्याड्ढ यकिन नभएपनि दलित समुदायका धेरै मानिसहरु व्यवसायिक रुपमा आरन सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update