Shittalpati
पाल्पामा ‘स्ववियु कप–२०८२’ सकियो

पाल्पा, जिल्लाको तानसेनस्थित टुँडिखेलमा सञ्चालित ‘स्ववियु कप २०८२’सकिएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको स्ववियु कप विभिन्न खेलकूद तथा साहित्यिक कार्यक्रमहरुको आयोजना गरी सकिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले जिल्लाको खेल क्षेत्रको विकासमा स्ववियु कपले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने “खेलले विद्यार्थीहरुको आन्तरिक प्रतिभाको प्रस्फुटन गर्नुको साथै खेलका माध्यमबाट एक–आपसमा सदभाव र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास गर्न सकिन्छ ।” कार्यक्रममा नगर उपप्रमुख प्रतीक्षा सिंजाली, क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थ, विद्यार्थी कल्याण प्रमुख, प्राध्यापक संघका सभापति, कर्मचारी संघका सभापति लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे ।

प्रतियोगितामा विएड, विविएस, विएसी, विएसी सिएसआइटी/विए, विविए, विविएम, मास्र्टस गरी ६ वटा समूहबीच विभिन्न २१ विद्यामा प्रतिस्पर्धा  भएको थियो । प्रतियोगितामा विएसी सिएसआइटी/ विएले सर्वाधिक ६ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित  १२ पदक जित्दै स्ववियु कप हात पार्न सफल भएको छ । त्यस्तै, विएडले ५ स्वर्ण, ६ रजत र ७ कास्य गरी १८ पदक प्राप्त गर्दै सर्वाधिक पदक जित्दै ‘‘Faculty of the Year’’  को उपाधि हासिल गरेको छ । यस्तै विविएसले ३ स्वर्ण, ८ रजत र ६ कास्य, विएससीले ४ स्वर्ण, १ रजत र ५ कास्य, विविए/विविएमले २ स्वर्ण, १ रजत र १ कास्य, मास्टर्सले १ स्वर्ण, २ रजत  पदक हासिल गरेका छन् । प्रतियोगितामा विजेता टिमलाई एक औपचारिक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको छ ।

 कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थ, विशिष्ट अतिथि निर्वतमान क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, वडा नं. ६ का वडा अध्यक्ष सागरमान महर्जन लगायतले संयुक्त रुपमा विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए । सोही अवसरमा स्नातक तहका वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गतका तथा स्नातकोत्तर तहका सिनियर विद्यार्थीहरूलाई बिदाई तथा “फेरि भेटौँला” कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई स्ववियु अध्यक्ष मिलन घर्तीले  हार्दिक आभार एवं धन्यवाद व्यक्त गरे ।  कार्यक्रम स्ववियु अध्यक्ष घर्तीको अध्यक्षता,  स्ववियु उपाध्यक्ष सन्तोष गहतराजको  स्वागत, विचन्द्र रायमाझी र मिस्मा रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update