Shittalpati
पाल्पामा पीसीआर मेसिन जडानका लागि एक करोड रकम निकासा

पाल्पा । जिल्लामा पीसीआर मेसिन जडानका लागि आवश्यक रकम निकासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) को पीसीआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै मेशिन खरिद गर्न सक्ने गरी एक करोड रकम निकासा भएको हो । भदौ २ गते बसेको कोरोना संक्रमण,रोकथाम नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको दशौं बैठकबाट उक्त रकम निकासा भएको थियो । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आईतबार पाल्पा अस्पताललाई मेसिन खरिदका लागि आवश्यक रकम निकासा गरेको पत्र पठाएको छ । पत्र अनुसार अस्पताललाई रकम प्रचलित कानून एंव स्वीकृत मापदण्ड बमोजिम खरिद गरी भुक्तानी गर्ने, लेखा राख्र्ने, लेखापरीक्षण गराउने र सो प्रतिवेदन समेत कार्यालयलाई उपलब्ध गराउन अनुरोध गरिएको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा पीसीआर मेसिन जडानका लागि यस अघी स्वीकृत दिइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १० गते पाल्पा सहित १० अस्पताललाई पीसिआर मेसिन सञ्चालनका लागि अनुमति दिएको थियो । पाल्पामा पीसीआर मेसिन सञ्चालनका लागि आवश्यक रकम निकासा भएपछि पाल्पा क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सामाजिक सञ्जालमार्फत पाल्पा अस्पतालमा पिसिआर मेशिन जडान गर्ने यसअघिको निर्णय कार्यान्वयन गर्न छोटो प्रक्रियाबाट जिल्ला अस्पतालले नै पिसीआर मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकाशा गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भने‘जिल्लास्थित सिसिएमसी र अस्पताल व्यस्थापन समितिले छोटो प्रक्रियाबाट पीसीआर मेशिन तथा अन्य उपकरण खरिद गरी प्रयोगशाला सञ्चालन गर्ने छ भन्ने विश्वास लिएको छु,कोरोना समुदायमा देखिन थालेको यस परिस्थितिमा पाल्पाली दिदीबहिनी दाजुभाइको जिल्लामै पीसिआर परीक्षण गर्न सहज हुने वातावरण बनेको छ ।’ आवश्यक रकम निकासा भइसकेको र मेसिन जडानको कार्य समेत अन्तिम चरणमा पुग्न लागेकाले छिट्टै पिसिआर परीक्षणको सेवा दिइने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताए । जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको निर्माण भएको भवनमा पीसिआर मेसिन जडानका कार्य भइरहेको छ । जिल्लामा अहिले पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । पिसिआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुने छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update