Shittalpati
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता

लुम्बिनी । कोरोना महामारीको संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए । छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यल पर्यटन प्रवद्र्धनमा गरिने हरेक गतिविधिमा स्थानीयवासी सक्रियतापूर्वक साथ दिन तयार भएको बताए । अग्रज पत्रकार हिमबहादुर विष्टले पर्यटन व्यवसायीसँग कोषको सहकार्य जरुरी रहेको बताए ।

लुम्बिनी होटल संघ नेपालका महासचिव लीलामणि शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायी सधैँ हातमा हात मिलाएर अगाडि बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीय र पर्यटनव्यवसायीसँंग कोष सधैँ सहकार्य गरेर हिँड्न तयार भएको बताए । उनले भने, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौंँ । सबैको सहयोग र सहकार्यमार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ ।’ छलफलमा प्रदेशसभा सदस्य फकरुद्धिन खानले स्थानीयवासीको सहकार्यमार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी वरिपरिको विकास दीर्घकालीन विकास लक्ष्यसहित अगाडि बढेको बताए । -रासस

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update