Shittalpati
निषेधाज्ञा मात्र समस्याको समाधान होइन

शुक्रबार मध्य रातदेखि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर स्थानीय प्रशासनले लकडाउन भन्दा कडा प्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ। चलनचल्तीको भाषामा यसलाई कफ्र्यू भन्ने गरिन्छ । एक सय २० दिनको लकडाउन खेपेका नागरिकमा यो निषेधाज्ञा पनि नयाँ होइन । यतिबेला देशका धेरै जिल्लाका कतिपय ठाउँमा लकडाउन र निषेधित क्षेत्र चलिरहेका छन्, त्यसमा पाल्पा पनि थपिएको छ । गत ११ चैतदेखि देशव्यापी रूपमा लागू गरिएको बन्दाबन्दी १ सय २० दिनपछि गत ७ साउनमा खोलिएको थियो ।

लकडाउनको चार महिनाको अवधिमा जति संक्रमण वृद्धि भएको थियो, लकडाउनपछिका दिनहरुमा त्यो भन्दा दोब्बर वृद्धि भएको छ । यही भयावह अवस्थालाई ख्याल गर्दै पाल्पा स्थानीय प्रशासनले पनि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा मात्र निकासको बाटो होइन । सरकारले लकडाउनको घोषणा गर्दा देशमा जम्मा दुई जना संक्रमित थिए । संक्रमित देखिएपछि सरकार धेरै नै सतर्क भएर लकडाउनको घोषणा गरको थियो । तर परिणाम भने कोरोना संक्रमणदर झन्झन् बढ्दै गयो । गत आर्थिक वर्षको अन्तिम दिन लकडाउनको चार महिना पुग्दा असार ३१ गते नेपालमा कोरोना भाइरसको संक्रमण संख्या १७ हजार पुगेको थियो, भने ३९ जनाको मृत्यु भएको थियो । यदि लकडाउन वा निषेधाज्ञा नै उपाय थियो भने दुई जनाबाट बढेको यो संख्या यसरी १७ हजार नै पुग्न नहुने थियो,यद्यपि त्यो समय निको हुनेको संख्या पनि ठूृलो थियो । त्यसैले यसबाट कुनै पनि समस्या समाधान हुन सकेन् । अहिले काठमाडौं सहित देशका अधिकांस जिल्लाहरुमा निषेधाज्ञाको समय तोकिएको छ । तर संक्रमतिको संख्या भने दिनहुँ बढिरहेको छ । अहिलेसम्म २९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्, भने एक सय २६ जनाको मृत्यु भएको छ । यी सबैले के बुझाउँछ भने लकडाउन अथवा निषेधाज्ञाले मात्रै समस्या रोकिने रहेनछ । त्यो समयको भरपुर सदुपयोग गर्नु महत्वपूर्ण हो । निषेधाज्ञाको समयलाई सदुपयोग नगर्ने र खाली घोषणका लागि मात्र घोषणा गर्ने हो भने निषेधाज्ञाको पनि कुनै सार्थकता रहन सक्दैन । यो अवधिलाई हदैसम्म सदुपयोग गर्न सरकार इमानदार हुनुपर्छ । पिसिआर परीक्षणलाई व्यापक बनाउने भनेको यस्तै बेलामा हो । निषेधाज्ञालाई एक महिना लम्ब्याएर भए पनि एक घर एक पिसिआर गरियो र आइसोलेसनको भरपर्दो व्यवस्था गरियो भने कोराना संक्रमण नियन्त्रण हुन सक्छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update