Shittalpati
रोगसँग खेलाँची नगरौं

विश्वभर फैलिएको कोरोना महामारी यति बेला नेपालमा व्यापक फैलिएको छ । अनुशासनको पालना नहुँदा यतिबेला कोरोना महामारी समुदायस्तरमै पुगेको छ । नेपाल सरकारले न्यूनतम स्वास्थ्य मापदण्डको पालना गर्न भनिरहे पनि आम नागरिकले त्यसको पालना नगर्दा संक्रमण समुदायस्तरमै फैलिन पुगेको छ । भाइरसको संक्रमणले भौगोलिक सीमा, जातजाति, वर्ग र धर्म नभनी सबैलाई प्रताडित बनाएको छ । आठ महिना अघि चीनको वुहान सहरमा देखा परेको यस भाइरसको संक्रमण घट्नुको साटो झनै व्यापक बन्दै गइरहेको छ । २५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्, भने झण्डै सय जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा दैनिक सयौँको संख्यामा संक्रमित थपिनुले पनि कोरोना समुदायमा फैलिसकेको प्रमाणित हुन्छ । सुरूवाती चरणमा विदेशबाट आएका र क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण देखिँदै आएपनि अहिले दर्जनौँ घनाबस्तीहरुमा संक्रमणको दर बढ्नुले थप संकटको स्थिति आउन सक्ने पूर्वाभास हुन थालेको छ । नेपाल जस्तो कम स्रोत साधन भएको मुलुकमा कोरोना जस्तो महामारी थेग्न गाह्रो पर्दछ ।

संक्रमण थप फैलिन नपाओस् भनेर पूर्वसर्तकता अपनाउनु बाहेक नेपालसँग अर्को कुनै विकल्प पनि छैन । पछिल्लो समय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, मन्त्री, सांसद, जनप्रतिनिधि, सरकारी निकायका कर्मचारी तथा सर्वसाधारण कोही पनि सुरक्षित देखिएका छैनन् । चार महिना लामो लकडाउन खुलेयता कोरोना नै अन्त्य भए जसरी मानिसहरुको अनावश्यक भीडभाड र भेटघाट तीव्र भयो । यसमा राजनीतिक दलदेखि सर्वसाधारणसम्म कसैले पनि न्यूनतम सावधानी अपनाएनन् । त्यसमाथि सार्वजनिक यातायात खुलेसँगै न सीमा नाकामा कडाइ गरियो न संक्रमित क्षेत्रबाट आउनेहरुकै निगरानी । यस विषम परिस्थितिमा हामी सबै एकजुट भएर कोरोना विरूद्ध लड्नुपर्नेमा यस भाइरससँग दिनहुँ निहुँ खोज्दै हिँडिरहेका छौँ । कोरोना कहरले बहुआयामिक क्षेत्रमा प्रभाव पारिसकेको यथार्थलाई बुझेर पनि बुझ पचाउँदा कोरोना व्यापक हुँदै गएको छ । एक जनाको लापरवाहीले सिंगो समुदाय र देश नै संक्रमित हुन्छ । त्यसैले कोरोना जस्तो रोगसँग खेलाँची नगरौं, सबैले आ–आफ्नो ठाउँबाट सावधानी अपनाउन सकेमात्र कोरोना महामारीसँगै लड्न सकिन्छ अन्यथा कोरोनाले ठूलो भयावह अवस्था सिर्जना नगर्ला भन्न सकिदैन ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update