Shittalpati
काज किरिया सञ्चालनका लागि आर्थिक सहयोग

पाल्पा । विपन्न परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको रामपुर नगरपालिका ८ कोल्टारका विपन्न विक परिवारलाई रामपुर नगरपालिकाका कर्मचारी र नेपाल तरुण दल रामपुरले आर्थिक सहयोग गरेका हुन् । ५० बर्षिय भगवती विकको निधन भएपछि काज किरिया गर्नकै लागि विक परिवारलाई आर्थिक समस्या उत्पन्न भएको थियो । आर्थिक अभावका कारण काज किरिया गर्न धौ धौ भएका बेला नेपाल तरुणदल रामपुर र रामपुर नगरपालिकाका कर्मचारीहरुले रकम संकलन गरी उक्त विपन्न परिवारलाई ११ हजार १ सय आर्थिक सहयोग गरेका छन् । मृत्यु संस्कारका लागि समेत आर्थिक अभाव भएको थाहा पाएपछि केही भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नेपाल तरुणदल रामपुरले जनाएको छ ।

उक्त सहयोग रकम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, ८ का वडा सदस्य मोहन प्रसाद श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरु सीताराम आचार्य, सुन्दरी वस्टाकोटी, शालिकराम खनालले संयुक्त रुपमा स्वर्गीय भगवतीका देवर विरेन्द्र विकलाई गरेका थिए । रकम हस्तान्तरण गर्दै नगरप्रमुख थापाले नेपाल तरुणदल र कर्मचारीले विपन्न परिवारप्रति देखाएको सहयोग र सदभाव प्रशंसनिय रहेको बताए । उनले समाजमा दुखमा परेका व्यक्तिहरुको उद्दारमा सबै लाग्न सके मात्र मानवता भएको ठहर हुने बताए । यस्तो अवस्थामा सबैले मानविय व्यवहार देखाउनुपर्नेमा उनले जोड दिए । रकम ग्रहण गर्दै विरेन्द्र विकले दुखद् क्षणमा पनि कर्मचारी र तरुणदलले देखाएको सहयोग र सहानुभूति अविस्मरणीय रहने भन्दै उनीहरुलाई धन्यवाद दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update