Shittalpati
एनसेल आजीयाटाले शुरु गर्‍यो वायरफ्रीप्लस सेवा

काठमाडौं (एजेन्सी) । एनसेलले नेपालमा पहिलो पटक वायरफ्रीप्लस वाइफाइ सेवा शुरु गरेको छ । गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवा शुरु गरेको एनसेल आजीयाटा लिमिटेडले बताएको छ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत सुरु गरेको हो । वायरफ्रीप्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा भएको कम्पनीको दावी छ । यो प्रविधि अन्तर्गत उपभोक्ताले बिनातारको प्रयोग डेटा सेवा लिन सक्ने छन् । प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ ओटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबी डेटा र मोबिप्लेक्स, हंगामा म्यूजिक, दामी म्यूजिक, प्रभु टिभीलगायत डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ घण्टा उपलब्ध हुने ग्राहकसेवा यस वायरफ्रीप्लस वाइफाइ सेवाको विशेषता भएको कम्पनीको भनाइ छ ।

गत महिनादेखि कम्पनीले यो सेवा लिन ग्राहकबाट प्रि–बुकिङ लिन शुरु गरेको थियो । वायरफ्रीप्लस वाइफाइ सेवा शुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ शुरुआत हो र यसमा ग्राहकले बन्डल सेवासहित नयाँ अनुभव लिन सक्छन् ।’ वार्षिक प्लानमा मासिक रू. ६ सय ९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमन्ड गरी ३ ओटा समूहमा कुनै पनि समूह अन्तर्गतको प्लान लिन सकिने कम्पनीको भनाइ छ । गोल्ड समूह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक कर बाहेक रू.६ सय ९० मा ६० जीबी वायरफ्रीप्लस डेटा, २ सय मिनेट अन नेट टकटाइम र २ ओटा फोरजी सिमकार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्ने बताइएको छ । त्यस्तै प्लाटिनम समूह अन्तर्गत ग्राहकले मासिक करबाहेक रू. ८ सय ६० मा ८५ जीबी वायरफ्रीप्लस डेटा, ५ सय मिनेट अन नेट टकटाइम र २ ओटा फोरजी सिमकार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्ने छन् । डायमण्ड समूह अन्तर्गत ग्राहकले मासिक करबाहेक रू. ९ सय ५० मा १ सय जीबी वायरफ्रीप्लस डेटा, १ हजार मिनेट अन नेट टकटाइम र २ ओटा फोरजी सिमकार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु–पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्ने छन् । ४ सय २० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकलाई यो शुल्क छूट गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update