Shittalpati
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

पाल्पा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको हो । उनलाई साउन १९ गते झाडापखालाले सिकिस्त भइ नेशनल मेडिकल कलेज वीरगन्ज लैजाने क्रममा मृत्यु भएको थियो । स्वाब संकलन गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनको साउन २० गते कोरोना पुष्टि भएको थियो । पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । प्रवक्ता गौतमका अनुसार २४ घण्टामा १ सय ३० जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म १५ हजार १ सय ५६ निको भएर घर फर्किएका छन् । निको हुने ७०.८ प्रतिशत रहेको छ । उनका अनुसार ६ हजार १ सय ७४ सक्रिय संक्रमित छन् । २४ घण्टामा ६ हजार ३ सय ५९ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख १२ हजार ९५३ पीसीआर परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेहरुको संख्या ९ हजार ९ सय २५ रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update