
पाल्पा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सोमबार विराटनगरका एक ७७ वर्षीय वृद्धको निधन भएसँगै मृतकको संख्या ५८ पुगेको हो । मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धको १९ गते नै निधन भएको थियो । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।