Shittalpati
भारतमा एकैदिन ५७ हजार संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ संक्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म संक्रमितहरुको संख्या १६ लाख ९५ हजार ९ सय ९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेभसाईटमा उल्लेख भए अनुसार कुल संक्रमित मध्ये पाँच लाख ६५ हजार १ सय ३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

त्यसैगरी दश लाख ९४ हजार ३ सय ७४ जना संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । ती मध्ये ७ सय ६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार कोरोनाले सबैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९ सय ६६ जना संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९ सय ९४ रहेको छ । मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९ सय ८६ जना संक्रमित अवस्थामै रहेका बेला तीन हजार ९ सय ३५ जनाको मृत्यु भएको छ । (रासस//एएनआई)

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update