Shittalpati
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

पाल्पा । नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो । मन्त्रालयका अनुसार मृत्यु पुष्टि हुने चारैजना पर्साका हुन् । प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्ज २ कै ६५ वर्षीय पुरुष र वीरगन्ज ११ स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो । योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

यसअघि कोरोनाकै कारण ५२ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । शुक्रबार १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभरका आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update