Shittalpati
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन्

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा रहेका सरकारी कार्यालय मध्ये केही सरकारी कार्यालयका ३० जना कर्मचारी काजमा र २२ जनाले हाजिरनै नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले लामो समयपछि गरेको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको नेतृत्वमा जिल्लाका २१ वटा सरकारी कार्यालयमा अनुगमन गर्दा ३० जना कर्मचारी काजमा र २२ जनाले कार्यालयमा आई हाजिरी नगरेको भेटिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, राष्ट्रिय पुनर्निर्माण जिल्ला प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई (शिक्षा) लगायतका सरकारी कार्यालयका ३० जना कर्मचारी काजमा बाहिर गएको पाइएको हो । त्यस्तै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला समन्वय समितिको कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, घरेलु तथा साना उद्योग विकास समिति, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी कार्यालयका २२ जना कर्मचारीहरु कार्यालय उपस्थित भए पनि हाजिर नगरेको पाइएको छ ।

सरकारी कार्यालयमा कर्मचारीको उपस्थिती, नागरिक सहायता कक्ष, कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार, कार्यालयको व्यवस्थापनका र सुशासन लगायतका विषयमा अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको टोलीले साउन १३ र १४ गते दुई दिन सदरमुकामस्थित सरकारी कार्यालयहरुको अनुगमन गरेको हो । प्रशासन कार्यालयले आफ्नै कार्यालयबाट अनुगमनको सुरुवात गरेको थियो । अनुगमनका क्रममा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु कार्यालयमा उपस्थित भएर पनि हाजिरी नगरेको भेटिएको अनुगमन टोलीका संयोजक तथा प्रशासकिय अधिकृत पन्थीले बताए । अनुगमन गरिएका सरकारी कार्यालयमा ३४ जना कर्मचारीहरुले कार्यालयको पोशाक नलगाएको, २ वटा कार्यालयमा उजुरी पेटिका नभएको, २ जना कर्मचारी बिदा स्वीकृत नगराई बिदामा बसेको, २ जना कर्मचारी समयमा कार्यालयमा उपस्थित नभएको, १७ जना कर्मचारीहरु बिदामा रहेको, ३ वटा कार्यालयहरुको बेरुजु फर्छौट नभएको समेत भेटिएको अनुगमन टोलीले जनाएको छ । त्यस्तै कार्यालयमा अधिकांश कर्मचारीहरुले परिचय पत्र नलगाएको देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पोशाक र परिचय पत्र नलगाएका कर्मचारीहरुका लागि पहिलो पटक कार्यालय प्रमुख र कार्मचारीलाई नै सचेत बनाईएको छ । दोस्रो चरणको अनुगमनमा पनि त्यस्ता कर्मचारी फेला परेमा कारवाही गरिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update