Shittalpati
महिलाहरुलाई व्यवसायिक बन्न आग्रह

पाल्पा (रामपुर), रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले महिलाहरुलाई व्यवसायिक बन्न आग्रह गरेकी छन् । रामपुरमा सञ्चालित दुई दिने सर्फ तथा सोडा बनाउने तालिमको समापन गर्दै उपप्रमुख आचार्यले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै व्यवसायिक बन्न रामपुरका महिलाहरुलाई आग्रह गरेकी हुन् ।

उनले तालिमले मानिसलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै तालिमबाट सिकेका ज्ञान सीपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिइन् । उपप्रमुख आचार्यले नगरपालिकाले सिक्ने उत्साहसँगै व्यवसायिक बन्ने प्रतिवद्धता जनाएका महिलाहरुलाई मात्र तालिम दिएको भन्दै उत्पादन भएका सामनको बजारीकरणमा समेत सहयोग गर्ने बताइन् । महिलाहरुलाई व्यवसायिक उद्यमी बनाउने उद्देश्यका साथ भएको तालिम रामपुर नगरपालिकाको आयोजना र स्किल वेष्ट ट्रेनिङ्ग एण्ड कन्सल्टेन्सी काठमाडौंको व्यवस्थापन तथा प्राविधिक सहयोगमा भएको हो । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि समेत रहेकी उपप्रमुख आचार्यले प्रमाण वितरण गरेकी छन् ।

कार्यक्रममा प्रमुख प्रशिक्षक सजना नकर्मीले तालिमलाई व्यवहारिक बनाउन सके अझ प्रभावकारी हुने बताइन् । कार्यक्रममा प्रशिक्षार्थीहरु जुना जिसी, शारदा रेग्मी, नन्दकुमारी लम्साल सिग्देलले आफ्ना अनुभव राख्दै सामूहिक रुपमा व्यवसायमा लाग्ने बताएका थिए । तालिममा प्रशिक्षकहरु पृथ्वीनारायण श्रेष्ठ, सजना नकर्मी र अस्मिता भट्टराईले सर्फ बनाउने कच्चा पदार्थ र निर्माण विधीको विषयमा जानकारी दिएका थिए । त्यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले महिला सशक्तिकरण र महिला अधिकारका बारेमा जानकारी दिएका थिए । तालिममा रामपुर नगरपालिका भित्रबाट छनौट भएका वडा ३, ५ र ८ का ३० जना महिलाहरुको सहभागिता रहेको सहायक महिला विकास निरिक्षक पूजा परियारले बताइन् । सहभागीहरुले तालिमको अवसरमा २७ केजी सर्फ तयार गरेका छन् । कार्यक्रम अस्मिता भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update