Shittalpati
पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए

पाल्पा । जिल्लामा विहिबार थप दुई जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक जना र निस्दी गाउँपालिकाका एक जना संक्रमित निको भएका हुन् । थप दुई जना कोरोना संक्रमित घर फर्किएसँगै जिल्लामा निको हुनेको संख्या ५ सय ५६ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । उनीहरुलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि स्थानीय तहका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गराईदै आइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ५ सय ६१ संक्रमितमध्ये विहिबारसम्म ५ सय ५६ जना निको भइसकेको र बाँकी ४ जना विभिन्न आइसोलेशन सेन्टरमा रहेर उपचार गराइरहेका छन् । हालसम्म माथागढी गाउँपालिकाका ३० जना, रामपुर नगरपालिकाका १ सय ११७, पूर्वखोलाका १ सय ५९, रैनादेवी छहराका ३९, रम्भाका ४०, बगनासकालीका ४२, तिनाउका ८, रिब्दीकोटका ५, निस्दीका ९९, तानसेनका १४, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका हुन् ।

त्यस्तै जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ५ सय ६१ पुगेको छ । हालसम्म रामपुर नगरपालिकामा एक सय १७, तानसेन नगरपालिकामा १४, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३९,रम्भा गाउँपालिकामा ४४, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ६०, रिब्दीकोट गाउँपालिकामा ५, उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update