Shittalpati
जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन

रमेश विश्वकर्मा

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गरिएको छ । सदरमुकाम तम्घासमा रहेका विभिन्न २१ वटा सरकारी कार्यालयहरुको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको नेतृत्वमा खटिएको टोलीले साउन १३ र १४ गते दुई दिन सदरमुकामस्थित सरकारी कार्यालयहरुको अनुगमन गरेको थियो ।

जिल्लामा सुशासन, सेवाप्रवाहलाई चुस्तदुरुस्त, कर्मचारीलाई अनुशासित र मर्यादित बनाउनको लागि कार्यालयहरुको अनुगमन गरिएको प्रशासकीय अधिकृत पन्थीले बताए । प्रशासन कार्यालयले आफ्नै कार्यालयबाट अनुगमनको सुरु गरेको थियो पन्थीले भने,‘प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु पनि कार्यालयमा उपस्थित भएर पनि हाजिरी नगरेको पाई ।’

२१ वटा सरकारी कार्यालयमा गरिएको अनुगमनमा ३४ जना कर्मचारीहरुले कार्यालयको पोशाक नलगाएको, २ वटा कार्यालयमा उजुरी पेटिका नभएको, २ जना कर्मचारी बिदा स्वीकृत नगराई बिदामा पाईएको, २ जना कर्मचारी समयमा कार्यालयमा उपस्थित नभएको, २२ जना कर्मचारीले कार्यालयमा आई हाजिर नगरेको पाईएको छ ।

त्यस्तै सदरमुकाम तम्घासस्थित २१ वटा सरकारी कार्यालयहरुमा गरिएको अनुगमनमा ३० जना कर्मचारीहरु काजमा रहेको, १७ जना कर्मचारीहरु बिदामा रहेको, ३ वटा कार्यालयहरुको बेरुजु फर्छौट नभएको देखिएको छ । त्यस्तै कार्यालयमा अधिकांश कर्मचारीहरुले परिचय पत्र नलगाएको देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पोशाक र परिचय पत्र नलगाएका कर्मचारीहरुको लागि पहिलो पटक कार्यालय प्रमुख र कार्मचारीलाई नै सचेत बनाईएको छ । दोस्रो चरणको अनुगमनमा पनि त्यस्ता कर्मचारी फेला परेमा कारबाही गरिने बताईएको छ ।

अनुगमन टोलीले जिल्ला समन्वय समितिको कार्यालय, सडक पूर्वाधार विकास कार्यालय गुल्मी, राष्ट्रिय पुनर्निर्माण जिल्ला प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, राष्ट्रिय पुनर्निर्माण जिल्ला प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (शिक्षा), जिल्ला हुलाक, घरेलु तथा साना उद्योग विकास समिति, शिक्षा विकास तथा समन्वय इकाई, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको अनुगमन गरिएको बताईएको छ ।

त्यस्तै मदन भण्डारी राजमार्ग योजना कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी, मालपोत कार्यालय, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नापी कार्यालय, भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र पाल्पाको सम्पर्क कार्यालय, डिभिजन वन कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गुल्मी अस्पतालको अनुगमन गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update