
पाल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले शैक्षिकसत्र २०७७ का लागि शुल्क नबढाउने भएको छ । देशभरका निजी विद्यालय चालु शैक्षिक सत्रका लागि शुल्क बढाउने तयारीमा जुटिरहेका बेला प्याब्सन पाल्पाले भने शुल्क नबढाउने भएको हो । साउन १२ गते बसेको प्याब्सनको सचिवालय बैठकले शैक्षिकसत्र २०७७ का लागि शुल्क नबढाउने निर्णय गरेको छ । कोभिड १९ का कारण विश्व आक्रन्त भइरहेको बेलामा निजी विद्यालयका अभिभावकहरुलाई थप आर्थिक भार नथप्ने अभिप्रायले यस्तो निर्णय गरिएको प्याब्सनका अध्यक्ष भरत प्रसाद न्यौपानेले बताए । उनले भने ‘प्याब्सन अन्तर्गतका जिल्लाका विद्यालयले गत पौष महिनामा शैक्षिकसत्रको शुल्क प्रस्ताव तय गरी स्थानीय निकायहरुमा प्रस्तावका लागि पेश गरेता पनि असहज परिस्थितिका कारण यस्तो निर्णय गरिएको हो ।’
विगत वर्ष नै निर्धारण गरेको शुल्क अधिकांस विद्यालयले लिन नसकेको अवस्थामा थप शुल्क बढाउन आवश्यक नरहेको अध्यक्ष न्यौपानेले बताए । ‘गत वर्ष नै निर्धारण गरेको शुल्क लिन सकेका छैनौँ भने किन यो वर्ष बढाउने’ उनले भने । चार महिनासम्मको लकडाउनले अभिभावक आर्थिक मारमा परेको अवस्था र सर्वोच्च अदालतले गत जेठमा निजी विद्यालयले शुल्क बढाउन नपाउने आदेश दिएकाले पनि गत वर्षकै शुल्क सीमामा रहने निर्णय गरिएको प्याब्सनका जिल्ला कोषाध्यक्ष तथा पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । उनले भने, ‘हामीले अदालतको आदेशको सम्मान गर्नुपर्छ र अभिभावकलाई मारमा पार्नुहुँदैन ।’ शुल्क वृद्वि नगर्ने प्याब्सनको निर्णयप्रति जिल्लाका अभिभावक खुसी भएका छन् । जिल्लाका ४० वटा निजी तथा आवासीय विद्यालयहरु प्याब्सनमा आवद्ध रहेका छन् । जहाँ १५ हजार ६ सय १८ विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ९ सय ७९ शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्याब्सनका कोषाध्यक्ष खत्रीले जानकारी दिए ।