Shittalpati
पाल्पाको रामपुरमा पितृप्रसाद ग्रहण गरेका २९ बढी एकै पटक बिरामी

इमान सिं राना

पाल्पा । जिल्लाको रामपुर नगरपालिका-७ मा सामूहिक प्रसाद ग्रहण गरेका २९ जना भन्दा बढी बिरामी परेका छन् । आइतबार मोहोटी टोलमा पितृप्रसाद ग्रहण गरेकाहरु सोमबारदेखि बिरामी परेका हुन् । स्थानीय मनबहादुर विकको १३ औं दिनको पुण्यतिथीमा उनका आफन्त, छिमेकी, मलामी घोतारीहरुले प्रसाद ग्रहण गरेका थिए । उनीहरुले प्रसादको रुपमा खिर, अचार र राज्माको तरकारी खाएका थिए । सोमबार ६ जनामा टाउको दुख्ने, रिंगटा लाग्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएपछि ६ जना रामपुर अस्पताल भर्ना भएका थिए ।

आइतबार थप २३ जना अस्पताल भर्ना भएका हुन् । रामपुर अस्पतालका फार्मेसी निरिक्षक रामप्रसाद कोइरालाका अनुसार २९ जना अस्पताल भर्ना भएका थिए । जसमा ८ जना पुरुष र २१ जना महिला मध्ये ३ बालबालिका रहेका छन् । उनले केहीले बाहिर क्लीनिकहरुमा उपचार गराइरहेको बताए । अस्पतालका बिरामीमध्ये अधिकांशलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको छ । थप समस्या देखिएमा वर्षादका कारण बाहिर पठाउन समस्या हुने भन्दै रिफर गरिएको हो ।

विरामी हुनेहरु वडा ७ को मोहोटी र कथान क्षेत्रका रहेका छन् । बिरामी सबैमा एकै किसिमको लक्षण देखिएको छ । उपचाररत विरामी मध्येका एक विरामीले सुरुमा टाउको दुख्ने र पछि झाडा पखाला, रिंगटा लाग्ने जस्ता लक्षणहरु देखिएको बताए । रामपुर अस्पतालका डाक्टर कुशल खनालले व्याक्टेरियाको कारण समस्या देखिएको र त्यसका बारेमा थप अनुसन्धान भइरहेको बताए ।

प्राथमिक उपचार केन्द्रको संरचनामा सञ्चालनमा रहेको अस्पतालमा एकै पटक ठूलो संख्यामा विरामीहरु आएपछि प्रशासन कक्ष तथा ओपिडी कक्षमा वेड व्यवस्था गरी उपचार गरिएको थियो । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेडेण्ट डाक्टर विजय परियारले आधा घण्टाभित्र वेड तयार गरेर उपचार थालिएको बताए । पछि केहीमा समस्या देखिएपछि थप उपचारको लागि रिफर गरिएको हो ।

प्रसाद ग्रहणमा आफन्त, छिमेकी, मलामी घरी एक सय भन्दा धेरै सहभागी भएको बुझिएको छ । भात, तरकारी र अचार खानेहरुमा कुनै समस्या देखिएको छैन । स्वर्गीय मनबहादुर विकका नाती मनिस सुनारले पसलबाट लगेको दूधले खिर बनाएको बताए । बिरामीको संख्या भने अझै बढ्न सक्ने देखिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update