Shittalpati
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्‍यो राहत सामग्री सहयोग

इमान सिं राना

पाल्पा(रामपुर) । पछौटेपन उन्मूलन समाज (बेस) नेपालले जिल्लाका बाढी तथा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेको छ । युकेएडको सहयोगमा केयर नेपालमार्फत प्राप्त भएको राहत सामग्री जिल्लाका १० वटै स्थानीय तहका प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गरेको हो ।

बेसले निरन्तरको वर्षाद्का कारण खसेका पहिरो तथा बाढीबाट क्षति भएका परिवारलाई उपलब्ध गराउने गरी पालिकाहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ । बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेका अनुसार निस्दी गाउँपालिकामा १४, रामपुर नगरपालिकाका १६, पूर्वखोला गाउँपालिकाका ३, रम्भा गाउँपालिकाका ३, माथागढी गाउँपालिकाका १०, बगनासकाली गाउँपालिकाका १२, रिब्दीकोट गाउँपालिकाका २०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी गाउँपालिकाका १८ र तानसेन नगरपालिकाका ५० गरी १ सय ५४ प्रभावित घरपरिवारलाई सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले सम्बन्धित पालिकाहरुसम्म सामग्री पु¥याएर पालिका प्रमुखहरुलाई हस्तान्तरण गरिएको र वितरणका लागि पालिकाहरुलाई नै जिम्मा दिईएको बेस नेपालका कार्यकारी निर्देशक पाण्डेले बताए । राहत सामग्री अन्तर्गत आवासका लागि त्रिपाल सेट, म्याट, बाल्टी, पानी प्रशोधनका लागि पियुस, सरसफाई तथा महिलाहरुको लागि आवश्यक कपडा तथा दैनिक जीवनमा आवश्यक अन्य सामग्रीहरु रहेको छ । बेस नेपालले कोरोना संक्रमणसंग जुध्न आफ्नो कार्यक्षेत्रका सबै पालिकाहरुलाई राहत रकम सहयोग, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भिटामिन ए खुवाउने क्रममा कोरोनाबाट सुरक्षित हुन आवश्यक सामग्री वितरण तथा विभिन्न विपद्हरुमा राहत सहयोगहरु उपलब्ध गराउंदै आएको छ ।

यस्तै रामपुर नगरपालिकाले बेस नेपालको सहयोगमा युकेएडको सहयोगमा प्राप्त सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरेको छ । नगरपालिकाले वडा १ को स्याउली बजारका पहिरोबाट पीडित परिवारलाई आईतबार प्रदान गरेको थियो । नगर प्रमुख रमणबहादुर थापाले उनीहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् । यता सोमबार अन्य स्थानका प्रभावितहरुलाई नगरपालिकाले कार्यालय परिसरबाटै प्रदान गरेको छ । पीडित परिवारलाई प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका योजना अधिकृत कपिलबहादुर खाँणले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update