Shittalpati
बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्सेनि हुने बाढी नियन्त्रण तथा कृषि बालीको क्षति न्यूनीकरणको पहलका लागि प्रदेश पाँच सरकारले चासो देखाएको छ । सत्तरी वर्षदेखि बाढी र डुबानका कारण यहाँ बर्सेनि हजारौँ बिघा खेतीबाली नष्ट हुने गरेको छ । बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न आइतबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्थलगत निरीक्षण गरे । मन्त्रीद्वयको टोलीले पाल्हिनन्दन र सरावल गाउँपालिकामा बाढी र डुबानले पारेको असर तथा कृषि बालीमा पुर्‍याएको क्षतिको अवलोकन गरेको थियो ।

सरावल गाउँपालिका–५, ६ र ७ तथा पाल्हिनन्दन गाउँपालिका–१ का विभिन्न स्थानमा डुबानका कारण यस वर्ष एक हजार ५०० भन्दा बढी बिघामा लगाइएको धान खेती नष्ट भएको स्थानीयवासीले बताएका छन् । यहाँ प्रत्येक वर्ष नै डुबानको समस्या रहेकोले दिगो समाधानका लागि पहल गर्न आवश्यक रहेको प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले जोड दिए । ‘बर्सेनि हुने डुबानका कारण यस क्षेत्रमा कृषकले लगाएको धान, केरा, उखुलगायतमा ठूलो क्षति पुगेको छ, कृषकको श्रम र लगानी खेर गएको छ, कृषि बालीमा पुगेको क्षतिको राहत र उनीहरुलाई बाँच्ने आधार बनाउन आवश्यक देखिएको छ’, उनले भने ।

बर्सेनि हुने डुबानलाई नियन्त्रण गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले प्रदेश सरकारले यसको दिगो समाधान हुने गरी पहल गर्नुपर्ने पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले उल्लेख गरे । स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले बाढी नियन्त्रणलाई प्रदेश सरकारले व्यवस्थित ढङ्गले समाधान गर्ने बताए । प्रदेश ५ मा सबैभन्दा ठूलो डुबान क्षेत्र नै यही रहेको उल्लेख गर्दै मन्त्री चौधरीले भरही खोला र धनेवा खोला पानीको बहावलाई अवरोध नहुने गरीचौडा गर्ने, सफाइ गर्ने तथा तटबन्ध निर्माण गर्ने गरी डुबानको समस्यालाई सकेसम्म नियन्त्रण गर्ने कार्यमा पहल गर्ने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पौडेलले बाढी नियन्त्रण गरेर कृषि बालीमा हुने क्षति न्यूनीकरण गर्न प्रदेश सरकार लागिरहेको बताए । कृषकलाई बाढी र डुबानले सधैँ सताउने परिपाटी अन्त्य गर्न उचित उपाय अवलम्बन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । पश्चिम नवलपरासीको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका बाढी र डुबानबाट बर्सेनि प्रभावित हुँदै आएका छन् । -रासस

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update