
काठमाडौं । आजबाट मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् । अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
आगामी आज रातिबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । -रासस