Shittalpati
पाल्पामा थप चार जनामा कोरोना संक्रमण

पाल्पा । जिल्लामा शनिबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

हुँगीमा रहेको जनकल्याण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ४ जनामा संक्रमण देखिएको छ । योसँगै रम्भा गाउँपालिकामा संक्रमितको संख्या ४४ पुगेको छ । थपिएका चार जनासँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि रामपुर नगरपालिकामा एक सय १७, तानसेन नगरपालिकामा १४, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३९, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ६०, रिब्दीकोट गाउँपालिकामा ५, उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको थियो ।

जिल्लामा कूल संक्रमित मध्ये ५ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म माथागढी गाउँपालिकाका २९ जना, रामपुर नगरपालिकाका १ सय ११७, पूर्वखोलाका १ सय ५९, रैनादेवी छहराका ३८, रम्भाका ४०, बगनासकालीका ३७, तिनाउका ८, रिब्दीकोटका ५, निस्दीका ९८, तानसेनका १३, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । उनीहरुलाई १४ दिनसम्म आइसोलेशनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि स्थानीय तहका विभिन्न आइसोलेशन सेन्टर राखेर उपचार गराइदै आइएको थियो । संक्रमित मध्ये १३ जना विभिन्न आइसोलेशन सेन्टरमा रहेर उपचार गराउँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update